काठमाडौं- नेपाल उद्योग परिसंघको उपाध्यक्षमा ७ जना चयन भएका छन्। परिसंघको विधान अनुसार मंगलबार परिसंघ गभर्निङ काउन्सिलले ७ जना उपाध्यक्ष चयन गरेको हो।
चयन भएका उपाध्यक्षहरूमा निर्वाण चौधरी (सिजी इलेक्ट्रोनिक्स), कृष्णप्रसाद अधिकारी (चितवन उद्योग संघ), राजेशकुमार अग्रवाल (राजेश मेटल क्राफ्ट), वीरेन्द्रराज पाण्डे (नेपाल आदर्श निर्माण कम्पनी), राजबहादुर शाह( राज ब्रुअरी), हेमराज ढकाल (चन्द्रागिरि हिल्स) र रोहित गुप्ता (लक्की नेपाल) छन्।उनीहरू संस्थापक समूह, प्रतिष्ठानगत समूह र संस्थागत सूमहबाट उपाध्यक्ष भएका हुन्। उनीहरूको सपथ ग्रहण पनि मंगलबार नै सम्पन्न भएको छ।
परिसंघका पूर्वअध्यक्ष विनोद चौधरीले उपाध्यक्षहरूको घोषणा गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले परिसंघलाई निजी क्षेत्रको अग्रणि संस्थाको रूपमा उभ्याउने गरी काम गर्न नवनिर्विचत पदाधिकारीहरूलाई शुभकामना दिए।
परिसंघ अध्यक्षमा विष्णुकुमार अग्रवालले यसअघि नै जिम्मेवारी सम्हालिसकेका छन्। मुलुकमा औद्योगिकरणका निम्ति नयाँ कार्यसमिति केन्द्रित हुने प्रतिबद्धता उनले व्यक्त गरे।
परिसंघका निवर्तमान् अध्यक्ष सतीशकुमार मोरले परिसंघका सुझावहरू नीति निर्माणका क्रममा गम्भीरताका साथ लिन थालिएको भन्दै चालु आर्थिक वर्षको बजेटमा समेत महत्त्वपूर्ण सुझाव समावेश भएको उल्लेख गरेका थिए। ह्विलिङ चार्ज तिरेर विद्युत उत्पादकबाट उद्योगले विद्युत खरिद गर्न सक्ने तथा 'मेक इन नेपाल स्वदेशी – अभियान' बजेटमा समावेश हुनु उल्लेखनीय उपलब्धि भएको उनको भनाइ थियो।
परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले परिसंघले जहिले पनि उद्योगीको सामूहिक हितलाई केन्द्रमा राखेर काम गरेको उल्लेख गरे। कार्यक्रममा परिसंघका गभर्निङ काउन्सिलका सदस्य विजयबहादुर शाह एवं राष्ट्रिय परिषद सदस्यहरू अनुज अग्रवाल, भीम घिमिरे, राजु पौडेल र पम्फा धमलाले नयाँ नेतृत्वलाई शुभकामना दिएका थिए।
कार्यक्रममा काउन्सिल र राष्ट्रिय परिषद् सदस्यहरूको उपस्थिति थियो।