काठमाडौं- नेकपाभित्र पूर्वमाओवादी केन्द्रीय सदस्यहरूको जिम्मेवारी चुनौतीको विषय बन्दै गएको छ। ३ जेठमा एमाले र माओवादी केन्द्रबीच एकीकरण हुँदा पूर्वमाओवादीका मात्रै चार हजारभन्दा बढी केन्द्रीय सदस्य थिए।
एमालेमा भने दुई सय मात्र सदस्य थिए। दुवै पार्टीका केन्द्रीय सदस्य मिलाएर चार सय ४१ जनाको केन्द्रीय समिति बनाइएको थियो।
तत्कालीन एमालेको भागमा दुई सय ४१ र माओवादी केन्द्रका भागमा दुई सय केन्द्रीय सदस्य परेका थिए। तत्कालीन एमालेले ४० केन्द्रीय सदस्य थप्न पाएको थियो भने केन्द्रले चार हजारमा ३८ सय केन्द्रीय सदस्यहरू कटौती गर्नुपरेको थियो।
त्यसबेला कटौती गरिएका केन्द्रीय सदस्यको व्यवस्थापन यसबेला नेकपा नेतृत्वको टाउको दुःखाइको विषय बनेको छ। एक साताभित्र जनवर्गीय संगठनको एकीकरण गर्ने तयारीमा नेकपा छ।
एकीकरण हुँदा नेकपासँग २२ वटा जनवर्गीय संगठन छन्। जनवर्गीय संगठनपछि मात्र भूगोलका कमिटीहरूको एकीकरण गर्ने तयारी छ। भूगोलका कमिटीको एकीकरण हुँदा माओवादीका पूर्वकेन्द्रीय सदस्यहरूको व्यवस्थापनको तयारी छ।
उनीहरूको संख्या ठूलो भएकाले शाखा कमिटीसम्म लगेर जिम्मेवारी दिने नेकपाका एक नेताले बताए। उनका अनुसार उनीहरूले आफू पहिले केन्द्रीय सदस्य भइसकेको भनेर दाबी गरे पनि माथिल्ला कमिटीमा सम्भव नहुने देखिएको छ। भूगोलका अरू कमिटीबाहेक ३८ सय केन्द्रीय सदस्यको व्यवस्थापन गर्नुपर्नेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४