काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघले नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको पक्षमा मुख खोलेको छ। महासंघका अध्यक्ष शेखर गोल्छाले व्यापारी–व्यवसायीले पनि राम्रोसँग राज्य सञ्चालन गर्न सक्ने भन्दै श्रेष्ठको पक्षमा बोलेका हुन्।
उनले सोमबार ट्विट गर्दै उद्योगी–व्यवसायीलाई नकारात्मक दृष्टिकोणबाट नहेर्न आग्रह गरेका छन्। निजी क्षेत्रले राजस्व र रोजगारीमा मुख्य योगदान दिएको तर निजी क्षेत्र नै अपमानित हुनु दुर्भाग्यपुर्ण रहेको उनले बताएका छन्। शिक्षा व्यापारी रहेका राज्यमन्त्री श्रेष्ठप्रति लक्षित गर्दै गोल्छाले लेखेका छन्, ‘अनुमानको भरमा पूर्वाग्रह राखेर निजी क्षेत्रको मानमर्दन कहीँ कतैबाट पनि हुनु हुँदैन।’
आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य राज्यमन्त्रीमा शिक्षा तथा स्वास्थ्य क्षेत्रका व्यापारी उमेश श्रेष्ठलाई नियुक्त गरेपछि विरोध भइरहेको छ।
ललिपुरको हात्तीवनमा रहेको लिटिल एन्जल्स एजुकेशन ग्रुपका अध्यक्ष श्रेष्ठको नेपालको शैक्षिक क्षेत्रमा मात्रै नभएर अन्य व्यवसायमा पनि लगानी छ। उनले व्यावसायिक शुरुवातमा भने लिटिल एञ्जल स्कुल खोलेर शैक्षिक व्यापारीको रुपमा परिचय बनाएका थिए।
उनी प्राइम कमर्सिंयल बैंकका मुख्य लगानीकर्ता हुन्। पछिल्लो समय जलविद्युत् आयोजनामा पनि लगानी गरेका छन्। चितवनमा होटल सिराइचुली, होटल सेन्ट्रल पार्क, धुलिखेलमा हिमालयन दृश्य रिसोर्ट र तनहुँमा घाँसी हेल्थ रिसोर्टमा पनि उनको लगानी छ। पोखरामा उनको नयाँ होटल परियोजना सुरु भएको छ। कृषि फार्म, निजी वन विकास लगायत धेरै क्षेत्रमा उनको लगानी छ।
बैंकको अध्यक्ष भइसकेका श्रेष्ठमाथि बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन संशोधन प्रस्ताव रोक्ने प्रयास गरेको पनि त्यतिबेला आरोप लागेको थियो।
उमेश श्रेष्ठले पछिल्लो समय स्वास्थ्य क्षेत्रमा हात हालेका थिए। नेपालमा निजी अस्पतालमा लगानी गर्न सुरु गरेका श्रेष्ठको यस वर्ष नै ५० करोडभन्दा बढी लगानीमा पाँचवटा निजी अस्पताल बनाउने तयारीमा छन्।