काठमाडौं- गत आर्थिक वर्ष २०७७/०७८ मा व्यापार घाटा २७ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्ष २०७६/०७७ को तुलनामा मुलुकको वैदेशिक व्यापार घाटा २७.२६ प्रतिशतले बढेको हो।
भन्सार विभागको वार्षिक तथ्यांकअनुसार गत आर्थिक वर्षमा मुलुकको वैदेशिक व्यापार घाटा १३ खर्ब ९८ अर्ब ७१ करोड २९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा १० खर्ब ९९ अर्ब ८ करोड ९९ लाख ४८ हजार रुपैयाँ वैदेशिक व्यापार घाटा रहेको थियो।
गत आर्थिक वर्षमा मुलुकको कुल व्यापार १६ खर्ब ८० अर्ब ९६ करोड ११ लाख ४८ हजार रुपैयाँ बराबरको भएको छ। सो व्यापारमा आयात १५ खर्ब ३९ अर्ब ८३ करोड ७० लाख ६८ हजार रुपैयाँ बराबरको भएको छ।
त्यस्तै निर्यात १ खर्ब ४१ अर्ब १२ करोड ४० लाख ८० हजार रुपैयाँ बराबरको भएको भन्सार विभागको तथ्यांक छ। अघिल्लो आर्थिक वर्षको तुलनामा मुलुकको कुल आयात २८.६६ प्रतिशतले बढ्दा निर्यात ४४.४३ प्रतिशतले वृद्धि भएको भन्सार विभागले जानकारी दिएको छ।