काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सकारात्मक भएपनि भ्रमणबाट कुनै ब्रेक थ्रु नभएको बताएका छन् ।
'भ्रमणमा चीनसँग भएका सम्झौतालाई आफूहरुले सकारात्मक लिएको तर बाहिर प्रचार गरिए जस्तो कुनै उलटपुलट भएको होइन', रिपोर्टर्स क्लवको साक्षात्ककारमा डा. महतले भने 'वर्तमान सरकारका मन्त्री कहिले २ वर्षमा, कहिले ५ वर्षमा भन्नुहुन्थ्यो, अहिले फेरि ७ वर्षमा रेल नेपाल आउँछ भनेर बिरोधाभाषपूर्ण कुरा रोमाञ्चक कुरा मात्र गरेका छन् ।'
महतले रेल ल्याउने कुरामा आर्थिक पक्षमा सरकारले स्पस्ट धारणा ल्याउन नसकेको बताए । 'लगानी कसको हुने हो ? कति लगानी लाग्छ? कोदारी राजमार्गजस्तै चीनले बनाईदियो भने त राम्रो हुन्छ' महतले भने चिनियाँ रेल काठमाडौंसम्म ल्याउनको लागि कम्तिमा पनि ५ देखि ६ अर्ब अमेरिकी डलर कहाँबाट ल्याउने हो ?'
रेल बनाउने बजेट नेपालले लिएको कुल ऋणको पनि दोब्बर हुने भएकोले मुलुकले नै धान्न नसक्ने गरि ऋण लिएर निर्माण सम्भव नभएको दाबी गरे। 'रेल परियोजनाबाट प्रतिफल आउने स्थिति देखिँदैन अनि त्यत्रो ऋणको भारी बोक्न मुलुकले सक्छ ? महतको प्रश्न थियो ।
महतले नाकाहरु खोल्ने तथा पूर्वाधार विकास गर्ने नौलो नभएको र त्यस्ता सहमति राजा महेन्द्रका समयमा पनि हुने गरेको बताए। उनले भने 'कांग्रेसकै पालामा त्यस्ता सहमतिलाई कार्यान्वयन गर्न कोदारी र रसुवागढी नाका खुलेको हो ।'
चीनको ओविआर अवधारणा तत्कालिन प्रधानमन्त्री सुशिल कोइराला सन् २०१४ को अगष्टमा चीन भ्रमणमा जाँदा नै मौखिक सहमति जनाएको उल्लेख गर्दै नेता महतले भने, 'ओविआरमात्रै होईन, एशियाली पूर्वाधार विकास बैंकको नेपाल त संस्थापक सदस्य हो, मेरै प्रस्तावमा यो अघि बढेको हो, म चीन गएको बेला यसमा हस्ताक्षर गरेको थिएँ ।'
नेता महतले भने, 'चीन भ्रमणका क्रममा विभिन्न १४ वटा सम्झौताहरु भएका छन्, यी सम्झौताहरु हुँदैमा कार्यान्वयन हुन्छ भन्ने कुनै निश्चित् छैन, जस्तो चीनको थ्रि–गर्जेज कम्पनीले बनाएको भनिएको पश्चिम सेती जलविद्युत परियोजनाबाट अहिले उसले हात झिकेको कुरा आएको छ, त्यसैले एमओयू हुँदैमा कुनै तमाशा हुँदैन्, सम्झौताहरु कार्यान्वयनको लागि फलो–अप–एक्शनमा जानुपर्छ ।'
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४