काठमाडौं-राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डल सदस्य राजेन्द्र महतोले आफ्नो पार्टी वर्तमान सरकारमा सहभागी हुने 'बटमलाइन' संविधान संशोधन भएको बताएका छन् ।
राजपा सरकारमा सहभागी हुने चर्चाबारे नेपाल समयको जिज्ञासामा महतोले भने, 'त्यस्तो हल्ला निराधार र कपोलकल्पित हो ।' सरकारमा जाने विषयमा सत्तारुढ दलका नेताहरूसँग छलफलसमेत नचलेको उनले दाबी गरे ।
संविधान संशोधन गरी मधेश आन्दोलनका माग पूरा गर्न सरकार तयार भएपछि मात्र सरकारमा जाने/नजाने भन्ने विषयमा छलफल गर्न सकिने महतोले बताए।
महतोले आफ्नो पार्टीका सांसद रेशमलाल चौधरीलाई जेलमा राखेर अरू मन्त्री बन्न जाने सम्भावना नरहेको बताए। 'सयौं साथीहरूलाई झुटा मुद्दा लगाइएको छ,' महतोले भने, 'हामीलाई सरकारमा जानकै लागि हाम्रा कार्यकर्ताले शहादत प्राप्त गरेका होइनन्।'
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४