हैदरावाद- भारत आन्ध्रप्रदेशको पालाकोल विधानसभाका तेलगु देशम् पार्टीका विधायक निम्माला रामानायडुले हालै अनौठौ हर्कत गरे । उनी एक रात स्थानीय मसानघाटमा सुते र ‘डिनर’ पनि त्यहीं गरे ।
गत शुक्रबार पूरै रात उनले मसानघाटमै गुजारे । बिहान उठेर घाटमै नुहाए र चिया पिएर घरतिर लागे । घाटमा भूतप्रेतले सताउने अन्धविश्वास विश्वव्यापी छ । त्यही अन्धविश्वास हटाउने प्रयास थियो, विधायक रामानायडुको ।
त्यो मसानघाट लामो समयदेखि अव्यवस्थित थियो । राज्य सरकारले त्यसको मर्मत सम्भारका लागि ठेक्का पनि लगायो । तर, भूतले दुःख दिने बहाना बनाउँदै मजदूरले काम गर्नै मानेनन् । ठेकेदार पनि मजदूरकै लहैलहैमा लागे ।
त्यसपछि विधायक रामानायडुले उनीहरूको मनबाट डर निकाल्ने जुक्ति निकाले । र, रातभर त्यहीं सुतेर उनीहरूलाई भूत प्रेत नभएको आत्मविश्वास जगाउने प्रयास गरे ।
त्यस घाटको पुनर्निर्माणका लागि दुई पटक टेन्डर भएको थियो । तर, काम गर्न कोही तयार नभएपछि पुनर्निर्माण भएन । एक सामान्य ठेकेदार काम गर्न तयार भए । तर, मजदूरले भूत प्रेतको डरका कारण काम बन्द गरिदिए ।
विधायक रामानायडुले रात गुजारेको भोलिपल्टैदेखि मजदूरले काम थालेका छन् । छिट्टै काम सकिने विश्वास उनको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४