काठमाडौं- सहकारी बैंक पनि अब अर्ब क्लवमा छिरेको छ। गत आर्थिक वर्षमा सहकारी बैंकले एक अर्ब ६६ लाख रुपैयाँ खुद नाफा कमाएर अर्ब क्लवमा छिरेको हो।
यसअघि नेपालका केही बाणिज्य बैंकहरू मात्र अर्ब क्लवमा छिरेका छन्। कोभीड‐१९ को असरका बाबजुत पनि सहकारी बैंकले नाफालाई एक अर्ब रूपैयाँ कटाउन सफल भएको हो। यो सफलता सहकारी बैंकको लागि धेरै ठूलो हो। अघिल्लो आर्थिक वर्षको तुलनामा नाफामा बैंकले ४७.४१ प्रतिशतले बढोत्तरी गरेको छ।
व्याज आम्दानी, सञ्चालन मुनाफामा बृद्धि भएसँगै बैंकको नाफामा पनि वृद्धि भएको हो। गत आर्थिक वर्षमा बैंकको निस्कृय कर्जा भने केही बढेको छ। अघिल्लो आर्थिक बर्षमा ०.७० रहेको बैंकको निस्कृय कर्जा गत आर्थिक वर्षमा बढेर १.३९ प्रतिशत पुगेको छ। कोभिड‐१९ का कारण सहकारी संस्थाहरूमा समस्या आएपछि कर्जा पर्याप्त उठ्न नसक्दा निस्कृय कर्जा बढेको बैंकले जनाएको छ।
त्यस्तै बैंकसँग तरलता भने परयाप्त रहेको छ। बैंकको कर्जा निक्षेप अनुपात ५०.७७ रहेको छ। जसको अर्थ अझै सहकारी बैंकसँग ३५ प्रतिशत रकम कर्जा लगानी गर्न सक्छ।
२ अर्ब ८७ करोड रूपैयाँ सेयर पुँजी रहेको बैंकको १ अर्ब ५२ करोड रूपैयाँ जगेडा कोषमा रहेको छ। जुन राष्ट्रिय स्तरका 'ख' बर्गका बाणिज्य बैंक सरह हो।
सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईका अनुसार पछिल्लो तीन वर्षमा सहकारी बैंकले ठूलो फड्को मारेको छ। पछिल्लो तीन वर्षमा बैंकको वासलात २२७ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै बैंकको सेयर रकम १७६, लगानी १९० बचत २३२ र नाफामा २१० प्रतिशतले वृद्धि भएको गुरागाईंले दावी गरे।
