काठमाडौं- प्रधानमन्त्री केपी ओलीले चीनसँग पारवाहनसम्बन्धी प्रोटोकलमा जुलाईभित्र हस्ताक्षर हुने दाबी गरेका छन् ।
उत्तरी छिमेकी चीनको ६ दिने भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् ।
'जुलाईभित्र पारवाहनसम्बन्धी प्रोटोकलमा हस्ताक्षर हुन्छ, रेलको सर्वेमा अलिकति समय लाग्छ,' प्रधानमन्त्रीले भने । रेलवे लाइन निर्माण र सञ्चालन सम्बन्धमा नयाँ प्रयोग र विकास हुने उनले दाबी गरे ।
नेपालको विकासमा चीन अत्यन्त सकारात्मक रहेको उनले पत्रकार सम्मेलनमा जानकारी दिए । प्रधानमन्त्री ओलीले सकेसम्म चाँडो चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गर्ने पनि जानकारी गराए ।
उनले पत्रकार सम्मेलनमा नेपाल कसैको कार्डको रुपमा प्रयोग नहुने बताए । उत्तर र दक्षिणबीचको सन्तुलन कायम गर्दै नेपाल प्रगतिपथमा अघि बढ्ने उनकाे भनाइ थियाे ।
प्रधानमन्त्री ओलीले नेपालमा चिनियाँ रेल आउँने लगभग पक्का भएपनि अझै धेरै अध्ययन अनुसन्धान बाँकी रहेको बताए । अध्ययनको काम चाडै सुरु हुँने उनले जानकारी दिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४