आइतबार, कात्तिक ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्‍त्री ओलीले भने- 'रेल कुनै जादु होइन, आजको भोलि आउने'

प्रधानमन्‍त्री ओलीले भने- 'रेल कुनै जादु होइन, आजको भोलि आउने'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

ल्हासा- प्रधानमन्त्री केपी ओलीले अगाडि बढाभएको ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई चीन र भारतका दुवै सरकारले महत्वपूर्ण भनेका छन् । दुवै मुलुकले सरकारीस्तरमै स्वीकारेका छन् । नयाँ संविधान कार्यान्वयनमा आएपछि तीन तहको निर्वाचन सम्पन्न भई बनेको सरकारका कार्यकारी प्रमुखका रूपमा उत्तरी छिमेकी चीनको ६ दिने औपचारिक भ्रमण समापनको संघारमा तिब्बतको ल्हासामा रासससँग कुरा गर्दै प्रधानमन्त्री ओलीले नेपाल र चीनको सम्बन्ध असाधारण र अभूतपूर्व भएको बताए । 

प्रस्तुत छ, राष्ट्रिय समाचार समितिका हरि लामिछानेले प्रधामन्त्री ओलीसँग लिएको अन्तरवार्ताको सम्पादित अंश :


अत्यन्त व्यस्त भएर नेपाल र नेपालीका लागि लामो समय खटिनुभएको छ, कसरी मिलेको छ यो ऊर्जा ?

धेरै घण्टा काम गर्ने मेरो आदत नै बनेको छ । १७/१८ घण्टा काम गर्दा मलाई त्यस्तो असुविधा हुँदैन ।

चीन सरकारले उच्च सम्मानका साथ यहाँलाई स्वागत गर्यो, योसँगै १४ बुँदे संयुक्त विज्ञप्ति जारी भई नै सकेको छ, सारमा यसबाट हामी कत्तिको उत्साहित हुन सक्छौँ ?

स्वाभाविक रूपमा चीन हाम्रो लगत्तैको मित्रराष्ट्र मात्र होइन, एउटा भरपर्दो तथा सधैंको सहयोगी मित्रराष्ट्र पनि हो । कुनै समस्या नभएको मित्रराष्ट्र हो र हामीलाई सहयोग गर्दै आएको मित्रराष्ट्र हो । यसभन्दाअघि मार्च २०१६ मा मैले चीन भ्रमण गरेका बेला जुन सहमति भएको थियो, जुन संयुक्त प्रेस विज्ञप्ति प्रकाशित भएको थियो । त्यसबेलाका कुरा नै ऐतिहासिक हुन् । नेपाललाई नयाँ युगमा प्रवेश गराउने र नेपाल-चीन सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने ती सम्झौता संयुक्त विज्ञप्तिले देखाएका थिए । तीनै सम्झौतालाई आगडि बढाउने र अरू थप समयानुकूल लिने हाम्रा आवश्यकता हुन् । तदनुसार नै हामीले कुराकानी गर्यौं, हामी यथार्थमा आशावादी नहुनुपर्ने कारण नै छैन ।

हामी आशावादी भएका छौं । हाम्राबीचमा भएका थुप्रै सहमतिह र संयुक्त रूपमा जारी गरेको प्रेस विज्ञप्तिमा त्यो विषय उल्लेख भएको छ । सरकारी र निजी क्षेत्रको लगानी अभिवृद्धि र सरकारी क्षेत्रका सहयोगका पक्षहरू सबै कुरामा हामी अगाडि बढेका छौँ । त्यसमा कोही पनि असन्तुष्ट हुनुपर्ने कारण नै छैन ।

प्रधानमन्त्रीज्यू, यो भ्रमणको सबैभन्दा चासोको विषय रेलमार्ग थियो, बेइजिङमा भएको सहमतिले केरुङ-काठमाडौं रेलमार्गको सम्भावनालाई कत्तिको बलियो बनाएको छ ?

अवश्य नै यो सर्वेक्षण गरिनसकेको विषय हो । अहिलेसम्म हाम्रो इच्छामा निर्भर रहेको विषय हो । चिनियाँ राष्ट्रपति सी चिनपिङले काठमाडौंसम्म रेल पुर्याउने आफ्नो भिजनका सम्बन्धमा स्पष्ट पार्नुभएको थियो । यो रेल सिगात्से पुगेको छ, अब त्यहाँबाट केरुङ हुँदै काठमाडौं र पोखरा तथा लुम्बिनीसम्म पुग्ने हो । अहिलेको हकमा काठमाडौं न्यूनतम गन्तव्य हो ।

यसमा मानिसहरू अनौठो के मान्छन् भने दुनियाँ कहाँबाट कहाँ पुगिसक्यो तर हामीले इनल्यान्ड वाटरवेज (आन्तरिक जलमार्ग) को कुरा गर्दा, नदीको बाटोबाट पानीजहाज चलाउँदा पनि अनौठो माने मान्छेले । तर, हामी काम गर्दैछौं र हामी छिटै शुरु गर्दैछौं । हामीले बन्दरगाह चलाउँछौं, पानीजहाज चलाउँछौं भन्दा पनि अनौठो माने । हामीले वैकल्पिक मार्गहरू र पारवहनको बन्दोबस्त गर्छौं भन्दा अनौठो माने । अरू कतिपयले हामीले नेपाललाई आधुनिक युगमा स्तरोन्नति गर्ने कुरा गर्दा अनौठो माने । तर, यो अनौठो मान्नुपर्ने कुरा होइन । 

अबको समयमा राजनीतिक र कूटनीतिक सम्बन्धका हिसाबले प्रणाली, सामाजिक प्रबन्धका हिसाबले, सुशासनका हिसाबले अथवा आर्थिक विकासका हिसाबले कसरी अगाडि जाने नेपाल? त्यसैले मैले समृद्ध नेपाल, सुखी नेपालीको नारा दिएको हो । त्यो अकारण छैन । त्यसैअन्तर्गत् हाम्रो रेलको सम्बन्धमा कुनै देशबाट ल्याएर हाम्रो सिमानासम्म थुतुनो मात्र घुसार्ने रेलको कुरा गरेको होइन । पूर्व-पश्चिम रेलको कुरा, राजधानीसम्म आउने रेलको कुरा, काठमाडौं-पोखरा जाने रेलको कुरा, काठमाडौं उपत्यकाभित्र चल्ने रेलको कुरा अथवा थानकोट-धुलिखेल चल्ने रेल अथवा काठमाडौं-वीरगञ्ज चल्ने रेलको कुरा नेपाललाई आधुनिक युगमा प्रवेश गराउने कनेक्टिभिटी (सम्पर्क सञ्जाल) हो । सम्पर्क सम्बन्धका, आवागमनका, परिवहनका सबै माध्यम र सूचना र सम्बन्धका सबै क्षेत्रलाई आधुनिक ढंगबाट विकासका लागि प्रयोग गर्नुपर्छ । त्यसो भएकाले रेलमार्गसम्बन्धी प्रश्न फेरि उठेको छ र यसको अध्ययन टुंग्याउने र कामहरू अगाडि बढाउने अवधारणामा हामी गएका छौं ।

नेपाली कार्गो ट्रान्सपोर्टका लागि बेइजिङमा सहमति भएको र त्यसलगत्तै प्रधानमन्त्रीज्यूसँग तिब्बतको सरकारका प्रमुखले पनि भेटवार्ता गर्नुभयो । त्यो सहमति र भेटवार्तालाई एकै ठाउँमा राखेर हेर्दा अब नेपालीले कस्तो लाभ लिन सक्छन् ?

त्यो सहमति भएको छ । हामीलाई हाम्रै उत्तरी भेगमा एक ठाउँबाट अर्को स्थानमा पुर्याउनका लागि धेरै ठूलो समस्या थियो । अथवा, उत्तरी भूभागको एक ठाउँबाट अर्को भूभागमा जान मात्र होइन कि औषधि पुर्याउनु परेमा, राहत तथा उद्धारका सामग्री पुर्याउनु परेमा, महामारीको बेलामा आवश्यक सामग्री पुर्याउनु परेमा अप्ठ्यारो थियो । त्यस्तो बेलामा अस्थायी रूपमा आग्रह गरेर तिब्बती राजमार्ग प्रयोग गर्ने गथ्र्यौं । जतिबेला समस्या पर्छ, त्यतिबेला काम शुरु गथ्र्यौँ । 

अब त्यो अवस्था अन्त्य भएको छ । हामीले तत् सम्बन्धमा चीनको तिब्बतको राजमार्गलाई प्रयोग गर्न सक्ने र उत्तरी भेगको कुनै पनि भेगमा हामीले सामान पुर्याउन सक्ने भएका छौं । धैरै अनुकूलता भएको छ । अब तिब्बत सरकारका प्रमुखसँग मैले दुईपल्ट कुरा गर्दा उहाँहरू यसमा अत्यन्त सकारात्मक हुनुहुन्छ । उहाँहरूको भावना सकारात्मक छ । उहाँहरूको सहयोग सकारात्मक ढंगले सहयोगी भावनाका साथ अगाडि बढ्छ ।

यहाँले पटक-पटक भन्दै आउनुभएको परियोजनाभन्दा ठूलो मित्रता हो भनेर मित्रताको कसीलाई हेर्दा यो भ्रमणले दुई देशबीचको सम्बन्धको उचाइलाई कहाँ पुर्याएको छ, यसलाई कसरी
लिनुभएको छ ?


यो त असाधारण छ, अपूर्व छ । सन् २०१६ को सहमति र संयुक्त विज्ञप्ति असाधारण थियो । त्यसै गरेर यसले त्यसैलाई अझ अगाडि बढाएको छ । असाधारण छ, यो अभूतपूर्व छ ।

यहाँको सक्षम नेतृत्वमा देशले बहुआयामिक ढोका खोल्दैछ, नेपाल-चीन र नेपाल-भारतका विषयमा जति पनि कुरा आएका छन्, असल छिमेकीको सम्बन्ध राखेर जानुपर्ने अवस्थामा चीनका राष्ट्रपति सीसँग आधा घण्टाभन्दा बढी समय व्यक्तिगत वार्ता गर्नुभयो । के नयाँ युगमा नयाँ दृष्टिकोण बन्दै गएको हो भन्न सकिन्छ ?

अवश्य नै, चिनियाँ राष्ट्रपतिज्यूसँग मेरो ३५-४० मिनट व्यक्तिगत कुराकानी भयो । त्यसपछि ३५-४० मिनटजति समूहमा कुरा भए । त्यसपछि सम्माननीय प्रधानमन्त्री ली खछ्याङसँग एक घण्टा वार्तास्थलमा कुराकानी भयो । एक घण्टाभन्दा बढी व्यक्तिगत रूपमा कुराकानी भए । त्यसले सम्बन्धलाई बहुआयामिक ढंगले सुदृढ गर्न बहुतै महत्वपूर्ण भूमिका खेलेको छ ।
 
यतिबेला म भन्न चाहन्छु, नेपालले कुनै हल्काफुल्का क्षणिक कूटनीति गर्न चाहेको छैन, गरिरहेको छैन, गर्न चाहिरहेको छैन । कसैले कार्ड प्रयोग गर्ने भन्ने शब्दावली प्रयोग गर्छन्, उत्तरी कार्ड, दक्षिणी कार्ड भन्ने प्रयोग गर्छन् । हामी कार्ड प्रयोग गर्ने होइन, मित्रता अगाडि बढाउन चाहन्छौं, दुवै छिमेकीसँग । यसभित्र कुनै कार्ड खेल्न खोजिने हाम्रो मनसाय हुन पनि सक्दैन, छँदा पनि छैन । र, हामी त्यस्ता कुरामा विश्वास गर्दैनौं । हामी मित्रतामा विश्वास गर्छौं । हाम्रो मित्रता र हामी हाम्रा छिमेकीसँग पनि मित्रता अभिवृद्धिका लागि हाम्रो मित्रता उपयोग हुन सकोस् । हामी अरूको मित्रतामा सहयोगी हुन सकूँ, त्यो भूमिका खेल्न सकूँ भन्ने चाहन्छौं ।

अन्तमा, चीन भ्रमणमा हुनुहुन्छ, केही समयअघि भारतको भ्रमण गर्नुभयो, जनता व्यग्र प्रतीक्षामा छन् । चीन भ्रमणको स्पष्ट सन्देश के हो ?

व्यावहारिक रूपमा त मैले भारत भ्रमण गरें । त्यसपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भ्रमण गर्नुभयो । त्यसपछि फटाफट काम हुन थाल्यो । त्यो व्यवहारमा देखिएको छ। चीन भ्रमणका उपलब्धि पनि क्रमशः देखिँदै जानेछन् । रेलजस्तो कुरा आजको भोलि कुनै जादु होइन तर सर्वे तुरुन्त प्रारम्भ हुन्छ । प्रक्रिया शुरु हुन्छ । विभिन्न जलविद्युत् आयोजना, औद्योगिक पार्कहरू र उद्योगहरू तथा सहयोगका क्षेत्रहरू विस्तार हुन्छन्, काम शुरु हुन्छ । र, द्रूतगतिले काम शुरु हुन्छ । त्यसैले यी सबै कुरा प्रमाणित हुन्छ ।

मानिसहरू सोचिरहेका हुन्थे, कूटनीति भनेको नबोल्नु, चुप लाग्नु हो । कतिले जे गरे पनि सहनुलाई कूटनीति ठान्ने, कतिले एकतिर ढल्कनुलाई कूटनीति ठान्ने र कतिले चिप्ला कुरालाई कूटनीति
ठाने । होइन, हामी त राष्ट्रिय हितलाई केन्द्र भागमा राखेर न्यायोचित कुरालाई केन्द्रमा राखेर, अन्तर्राष्ट्रिय कानुन र प्रतिबध्दतालाई केन्द्रमा राखेर न्यायोचित ढंगले अगाडि बढ्छौं । र, मैत्रीभावलाई सबैभन्दा मुख्य स्थानमा राखेर अगाडि बढ्छौं भने हाम्रा नीतिहरू ठीक छन्, सही छन् । हामी यी नीतिमा सफलताका साथ अगाडि बढेका छौं, जो व्यवहारले देखाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।