काठमाडौं‐ नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिन सेयर बजार परिसूचक (नेप्से) झन्डै सय अंकले उकालो लागेको छ। नयाँ सरकार आएको र नयाँ आर्थिक वर्ष पहिलो कारोबार दिनमा नै नेप्से वृद्धि भएको हो।
आइतबार सेयर बजार परिसूचक (नेप्से) ९७.३१ अंकले उकालो लागेर २९८०.३१ अंकमा पुगेको छ। यसदिन सम्पूर्ण समूहगत उपसूचक समेत उकालो लागेको छ। एकैदिन यति धेरै अंकमा नेप्से उकालो लागेको यो पहिलो पटक हो। यसदिन कारोबार रकम पनि पछिल्लो एक महिनायताकै सर्वाधिक भएको छ। आइतबार बजारमा ११ अर्ब ६३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
असार ८ गते करिब १० अर्ब रुपैयाँ हाराहारीमा सेयर कारोबार भएको थियो। असारमा नाफा बुक गरेका ठूला तथा संस्थागत लगानीकर्ता बजार छिरेपछि सेयर बजार बढेको लगानीकर्ताको बुझाइ छ।
नेपाल इनभेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले असार मसान्तको 'ह्याङओभर' सकिएकोले पनि बजार उत्साहका साथ उकालो लागेको बताए। उनले भने, ‘असार मसान्तमा सबैले ब्याज तिुर्नुपर्छ, नाफा बुक गरेर बैंकको ब्याज तिरेका लगानीकर्ता पुनः बजारमा फर्किएका छन्। त्यस्तै शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि संसदबाट विश्वासको मत पाउने देखिएपछि लगानीकर्ता उत्साहित भएर लगानी गर्न थालेका हुन्।’
उनले भने, ‘साउन महिनाको सुरुवातसँगै बजारले हरियो रंग देखाउन सुरु गर्यो। बजारले अब पहिलेको २० अर्बको कारोबार र ३०२५ अंकको रेकर्ड तोडेर नयाँ रेकर्ड कायम गर्नेछ।’
रौनियारका अनुसार बजार उकालो लाग्न नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माको पुँजीबजारप्रतिको सकारात्मक धारणा पनि हो। शर्मा ऊर्जामन्त्री हुँदा राम्रो काम गरेको छाप लगानीकर्तामा परेकोले पनि बजार उकालो लागेको हो। उनले भने, ‘साउन महिनाको सुरुवातसँगै बजारले हरियो रंग देखाउन सुरु गर्यो। बजारले अब पहिलेको २० अर्बको कारोबार र ३०२५ अंकको रेकर्ड तोडेर नयाँ रेकर्ड कायम गर्नेछ।’
उनले नेपाल धितोपत्र बोर्डले ५१ वटा कम्पनीको सेयरमा चलखेल गरेको सूची सार्वजनिक गरी बजार घटाउन कोसिस गरेको आरोप लगाउदै ‘अब त्यो कालो बादल’हटेर गइसकेको दाबी गरे।
त्यस्तै अर्का लगानीकर्ता एवं सेयर विश्लेषक अम्बिकाप्रसाद पौडेलले लगानीकर्ताले नयाँ आर्थिक वर्ष र सरकारलाई स्वागत गरेको बताए। उनले भने, ‘नयाँ सरकारले संसदमा विश्वासको मत पाउने विश्वास भएकोले लगानीकर्ताले पुँजीबजारमा ढुक्क भएर लगानी गरेको छ। त्यस्तै अर्थमन्त्री पनि बजारप्रति उदार एवं सकारात्मक भएकोले बजार उकालो लागेको हो।’
आगामी दिनमा सबै पुराना रेकर्ड तोडिने उनको दाबी छ। पौडेलका अनुसार गत असारमा बैंकहरूले नाफा बुक गर्नका लागि सेयर बिक्री गर्दा बजार ओरालो लागेको र तर चालु आर्थिक वर्ष लागेसँगै उनीहरूले फेरि लगानी गर्न सुरु गरेकोले बजार उकालो लाग्न थालेको हो।
त्यस्तै उनले आगामी दिनमा बजार घट्न पर्ने कुनै कारण नदेखिएको भन्दै पहिले पनि बजार ह्वात्तै घटेको नभएर करेक्सन मात्र भएको दाबी गरे। नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले चालु आर्थिक वर्षको पहिलो करोबारलाई हेरेर बजार उकालो लाग्छ भन्न नसकिने प्रतिक्रिया दिए।
मौद्रिक नीति आउन लागेको समयमा नाफा बुक गर्नका लागि केही लगानीकर्ताहरुले चलखेल गरेर बजार हरियो बनाएको केही विश्लेषकहरूको भनाइ छ।
चालु आर्थिक वर्षको सुरुवातसँगै बजार उकालो लाग्ने आशामा लगानीकर्ताले थप लगानी गरेका कारण बजार उकालो लागेको तर उकालो लाग्नपर्ने विशेष कारण नभएको उनको दावी छ।
आइतबार बजारमा समृद्धि फाइनान्स, सिन्धु विकास बैंक, ङादी ग्रुप, सिंगटी हाइड्रो इनर्जी र हिमालयन पावर पार्टनरको सेयर मूल्य १० प्रतिशतले बढेको छ। कारोबारमा आएका २२१ कम्पनीमध्ये ९ कम्पनीबाहेक सबै कम्पनीको सेयर मूल्य बढेको छ।
त्यस्तै मञ्जुश्री फाइनान्सको सर्वाधिक ४१ करोड रुपैयाँको सेयर किनबेच भएको छ। सबै उपसमूह हरियो भएको बजारमा जीवन बीमा समूह सर्वाधिक ६४८ अंकले बढेको छ। निर्जीवन बिमा समूह ४४१ अंक, विकास बैंक समूह २३३ अंक, लघुवित्त समूह १९० अंक, उत्पादन समूह १६५ अंक, र बैकिङ समूह ९२ अंकले बढेको छ।
मौद्रिक नीति आउन लागेको समयमा नाफा बुक गर्नका लागि केही लगानीकर्ताहरुले चलखेल गरेर बजार हरियो बनाएको केही विश्लेषकहरूको भनाइ छ।
आगामी मौद्रिक नीतिले भने बजारलाई निरुत्साहित पार्ने खालको नीति ल्याउने सम्भावना अधिक रहेको छ। बजार विना काराण बढ्दा ससाना लगानीकर्ता डुब्ने भएकोले पनि बजारमा लगाम आवश्यक रहेको भनी नेपाल धितोपत्र बोर्डले नेपाल राष्ट्र बैंकलाई केही दिन अगाडि नै प्रतिवेदन बुझाएको थियो।