काठमाडौं- नेपाल राष्ट्र बैंकले २०७८ साल माघ महिनाको मूल्यवृद्धि १० प्रतिशत हुने अनुमान गरेको छ।
आइतबार उपभोक्ताको मूल्य अपेक्षासम्बन्धी त्रैमासिक प्रतिवेदन प्रकाशन गर्दैै राष्ट्र बैंकले आगामी माघ महिनासम्ममा उपभोक्ता मूल्यवृद्धि १० प्रतिशतमा पुग्ने अनुमान गरेको हो। त्यस्तै राष्ट्र बैंकले चालू आर्थिक वर्षदेखि त्रैमासिक उपभोक्ता मूल्य अपेक्षासम्बन्धी त्रैमासिक प्रतिवेदन पनि प्रकाशित गर्ने जनाएको छ।
राष्ट्र बैंकले २०७७ माघ महिनामा पहिलो मुल्यवृद्धि सर्वेक्षण सम्पन्न गरेको थियो। सो समयमा देशको औषत मुल्यवृद्धि ८ प्रतिशत रहेको थियो भने गत वैशाखमा सम्पन्न गरिएको सर्वेक्षणमा मूल्यवृद्धि औषतमा ८.७ प्रतिशत रहेको थियो।
सर्वेक्षणमा सातै प्रदेशका प्रमुख सहरमा बसोबास गर्ने ४८२ व्यक्तिसँग प्रत्यक्ष अन्तर्वार्ताका माध्यमबाट उनीहरुको मूल्यवृद्धि सम्बन्धी अपेक्षा सङ्कलन गरिएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार आगामी तीन महिनामा मूल्य बढ्ने अनुमान गर्ने उत्तरदाताको संख्या ८६.९ प्रतिशत र आगामी एक वर्षमा मूल्य बढ्ने अनुमान गर्ने उत्तरदाताको संख्या ९४ प्रतिशत रहेको छ।
सहरी क्षेत्रका उपभोक्तामा मात्र सीमित रहेको यस सर्वेक्षणको दायरालाई क्रमशः विस्तार गर्दै भविष्यमा ग्रामीण क्षेत्रमा बसोबास गर्ने उपभोक्ता, ट्रेड युनियन, आयातकर्ता, थोक बिक्रेता, उत्पादक, विज्ञ तथा उद्यमीको अनुमानलाईसमेत समेट्ने योजना रहेको पनि राष्ट्र बैंकले जनाएको छ।
नेपाल राष्ट्र बैंकले प्रकाशित गर्ने गरेको देशको वर्तमान आर्थिक तथा वित्तिय स्थितिअनुसार गत आर्थिक वर्षको ११ महिनामा उपभोक्ता मूल्यवृद्धिदर ४.१९ प्रतिशत रहेको थियो। यसबाट के स्पष्ट भएको छ भने हाल नेपाल राष्ट्र बैंकले मूल्यवृद्धिका लागि अपनाइरहेको विधि वास्तविक छैन।