काठमाडौं- राजधानीबाट प्रकाशित आइतबारका सबैजसो दैनिक पत्रिकाहरुले एसईईको नतिजा खस्किएको विषयलाई मुख्य साचार बनाएका छन् ।
शनिबार सार्वजनिक भएको नतिजा अनुसार १.६ देखि ४ जीपीए ल्याउने विद्यार्थी ७५.९२ प्रतिशत छन् । ताकि अघिल्लो बर्ष ८२.३८ प्रतिशत थिए ।
यसवर्ष ४ लाख ५१ हजार ५ सय ३२ जनाले परिक्षा दिएकोमा जम्मा २५ जनाले ४ जीपीए पाएका छन् भने २ भन्दा कम जीपीए ल्याउनेको संख्या १ लाख ९५ हजार ३ सय १५ छ । यी विद्यार्थीलाई कक्षा ११ को भर्ना पाउन कठिन हुनेछ ।
एसईईको नतिजा सार्वजनिक भएको विषयलाई मुख्य समाचार बनाउँदै कान्तिपुर दैनिकले 'एसईई नतिजा झन् खस्कियो' शीर्षकमा खबर छापेको छ ।
उसले समाचारमा लेखेको छ– अनिवार्य गणित बाहेकका सबै विषयमा प्रयोगात्मक नम्बरको व्यवस्था गरिँदा पनि एसईईको नतिजा गतवर्ष भन्दा ६.४६ प्रतिशतले खस्किएको छ । गतबर्ष १.६५ देखि ४ जीपीए ल्याउने विद्यार्थी ८२.३८ प्रतिशत रहेकोमा यसवर्ष ७५.९२ प्रतिशतमा झरेको हो ।
यस्तै आजको नागरिक दैनिकले पनि 'एसईई नतिजा सार्वजनिकः गुणस्तर खस्कियो' शीर्षकमा खबर छापेको छ भने नयाँ पत्रिकाले दुई लाख विद्यार्थीलाई भर्ना पाउन कठिन शीर्षकमा खबर लेखेको छ । अन्नपूर्ण पोस्टले भने यो खबरलाई पहिलो पृष्ठमा सानो कोलममा स्थान दिएको छ ।
एसईईको नतिजा बाहेक आजको नयाँ पत्रिकाले रिङरोड बन्नासाथ भत्काइने शीर्षकमा मुख्य समाचार छापेको छ ।
उसले तयार हुनासाथ सडक भत्काउनु पर्ने मुख्य चार कारण समेत उल्लेख गरेको छ । ट्राफिक लाइटको परिकल्पना नभएकाले, डिजाइनमा सडक वत्तीको व्यवस्था नभएकाले, करिब १५ ठाउँमा आकाशे पुल थपिने भएकाले र डिभाइडरमा फूलविरुवा रोपिने भएकाले सडक भत्काइने नयाँ पत्रिकमा खबर छ ।
अन्नपूर्णले नेकपाको मासिक आम्दानी १० करोड रहेको विषयलाई विशेष प्राथमिकता दिएर छापेको छ । उसका अनुसार नेकपाले साधारण सदस्यबाट मात्रै २ करोड उठाउँने गरेको छ । सदस्यहरुको लेभीबाट वार्षीक सवा अर्बभन्दा बढी रकम पार्टीको कोषमा जम्मा हुने गरेको अन्नपूर्णले लेखेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४