काठमाडौं- पश्चिम युरोपमा आएको भीषण बाढीका कारण ५५ जनाको मृत्यु भएको छ जर्मनको एक जिल्लाका १३ सय हराइरहेका छन्। बाढीका कारण पश्चिमी र दक्षिणी जर्मनीका दुई गाउँ तहसनहस भएका हुन्। बाढीका कारण सयौं घर बगेका छन् भने सयौं सर्वसाधारण बेपत्ता भएका छन्। अहिलेसम्म बाढीमा परी ५५ जनाको ज्यान गएको पुष्टि भए पनि मृतक संख्या बढ्न सक्ने अनुमान गरिएको छ।
जर्मनीमा ४९ जनाको ज्यान गएको छ भने बेल्जियममा ६ जनाको मृत्यु भएको सीएनएनले जनाएको छ। बाढीका कारण जर्मनी, बेल्जियम, लक्जेम्बर्ग र नेदरल्याण्ड्सको जनजीवन नराम्ररी प्रभावित बनेको छ। जर्मनीको राइनल्यान्ड प्यालाटिनेट राज्यका १३ सय सर्वसाधारण हराइरहेका छन्।
जर्मन मौसम विभागका प्रवक्ता एन्ड्रियास फ्रेडरिकले यस्तो भीषण बाढी सय वर्ष यताकै खतरानाक भएको बताए। जर्मनीमा आँकलन नै नगरेको भीषण बाढी आएको र त्यसले भौतिक संरचना तथा घरहरू तहसनहस पारेको उनले बताएका छन्। राइनल्यान्ड प्यालाटिनेटको पूरै गाउँ डुबानमा परेको छ। एक महिनामा पर्नुपर्ने पानी २४ घण्टाभित्रै परेको मौसम विभागले जनाएको छ।
जर्मनीमा नौ घण्टामा अधिकतम २ सय ७ मिलिलिटरसम्म पानी परेको बताइएको छ। जर्मन चान्सलर एन्जेला मर्केलले जर्मनीमा आएको बाढीलाई विनाशकारी बाढीको संज्ञा दिएकी छन्। ‘जर्मनीका शान्त ठाउँ क्षणभरमै विनाश भएका छन्। क्षतिको विवरण शब्दमा व्यक्त गर्न सकिँदैन। यो साँच्चिकै ठूलो विपत्ति हो,’ मर्केलले भनेकी छन्।
यस्तै उनले बाढीका कारण विपत्तिमा परेका सर्वसाधारणको उद्धारमा जोडतोडका साथ लाग्न निर्देशन दिएकी छन्। विपत्तिमा परेका सर्वसाधारणलाई आर्थिक सहायताका लागि पनि उनले आदेश दिएकी छन्। उनले बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि दिएकी छन्।