एजेन्सी- ठूलो अन्योलबीच युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले गएको जुन ११ देखि जुलाई ११ सम्म भएको युरोकपमा दर्शकलाई अनुमति दिएको थियो।
दर्शकले मैदानमा खेल हेर्न अनुमति पाएसँगै कोभिड- १९ को महामारीमा संक्रमण दर बढ्ने संकेत विज्ञहरुले गरेका थिए। यद्यपि रंगशालामा ठूलो संख्यामा समर्थकको उपस्थिति रहेको थियो। इङ्ल्यान्डको लण्डनस्थित वेम्बली रंगशालामा फाइनल खेल हेर्न मात्र ६० हजारभन्दा धेरै फुटबल समर्थकको उपस्थिति थियो।
त्यति मात्र होइन, सुरुमा कुल क्षमताको २५ प्रतिशत मात्र राख्ने भनिए पनि ९० हजार क्षमताको रंगशालामा फाइनलमा दुइतिहाई भन्दा धेरै सिट भरिएको थिए।
रंगशालाबाहिर टिकटविहीन समर्थकको पनि ठूलो उपस्थिति थियो। यसबाहेक सेन्ट पिटरबर्गमा कुल क्षमताको ५० प्रतिशत, एलिनाज एरिनामा २२ प्रतिशत तोकिएको थियो।
खोप कार्यक्रम अघि बढिरहेको समयमा मानिसको उपस्थितिलाई त्यति जोखिमका रुपमा त लिइएको थिएन। तर खोप नलगाएका र नयाँ भेरियन्टको भाइरसको खतराले अहिले असर सुरु गरेको छ।
डेनिस फुटल संघले बेल्जियमसँगको खेलपछि आफ्ना तीन समर्थकलाई डेल्टा भेरियन्टको भाइरसको संक्रमण भएको बताएको थियो। डेनमार्कको पार्केन रंशगशालामा भएको उक्त खेलमा ४२ हजार समर्थकको उपस्थिति थियो।
समूह चरणको खेल सकिएसँगै प्रतियोगिता आयोजना भएका विभिन्न ११ युरोपेली देशहरुमा सक्रिय संक्रमितको संख्या १० प्रतिशतले बढेको थियो। त्यो खेलपछि जर्मनीका आन्तरिक मामिलामन्त्रीले प्रतियोगितामा भिड नियन्त्रण गर्नुपर्ने बताएका थिए।
प्रतियोगिता सुरु हुनुअघि युरोपमा १० हप्तासम्म लगातार कोभिड संक्रमणका केसहरु घटिरहेका थिए। तर युरोकप सुरु भएपछि घट्न सकेन।
‘रंगशालामा मानिसहरुको उपस्थितिभन्दा पछाडि पनि धेरै कुराहरु छन्,’ विश्व स्वास्थ्य संघका अपतकालीन अफिसर क्याथरिन स्मलवुड भन्छिन्, ‘रंगशालाको उपस्थितिलाई मात्र हेर्न मिल्दैन। त्यसअघि मानिसहरु बसमा भिड भएर आउँछन्। हुलकाहुल भएर रंगशाला पस्छन्। बाहिर निस्किँदा पनि बिनामास्क हुलमा सामेल हुन्छन्।’
फुटबल समर्थकको यस्ता गतिविधिले युरोपमा फेरि कोभिड संक्रमितको संख्या बढिरहेको छ। उनले थपिन्, ‘मलाई अचम्म लाग्छ किन यूईएफएले यस्तो निर्णय गरेको होला?’
हंगेरीको पुस्कस एरिनामा भएको खेलमा र त्यहाँको स्थानीय आयोजकले सबै टिकट बिक्री गरेको थियो।
लन्डनमा भएको एक खेल हेर्न गएको स्कटल्यान्डको १ हजार २९४ दर्शक पुगेका थिए। त्यसमा पनि ३९७ जनाले इंग्ल्यान्ड र स्कटल्यान्डको खेल वेम्बलीमा हेरेको थिए।
पहिले भारतमा देखिएको डेल्टा भेरिएन्टको भाइरस गएको बुधबारसम्म इङ्ल्याण्डमा २६ हजारभन्दा धेरैमा देखिसकिएको छ। र, अहिले युरोपमा डेल्टा प्लस निकै तीव्र गतिमा फैलिरहेको छ।
स्कटल्याण्ड प्रतियोगिताबाट बाहिरिएपछि फुटबलमा भेला भएका एक हजार ९९१ जानलाई कोभिड देखिएको स्कटल्याण्डले बताएको थियो। फिनल्यान्डले पनि युरोकप हेर्न गएका ३०० भन्दा धेरैलाई कोरोना भाइरसको संक्रमण देखिएको बताएको छ।
कोभिडको प्रभाव बढ्दै गएपछि रसियाका उपप्रधानमन्त्रीले त ५०० भन्दा धेरै समर्थकलाई मैदानमा भेला हुन बन्द गर्नुपर्ने बताएका थिए।
समूह चरणका खेल सकिनेबित्तिकै खेल आयोजना भएका विभिन्न सहरमा संक्रमितको संख्या ह्वात्तै बढेको थियो। यसकारण लण्डनमा भएको सेमिफाइनल खेल हेर्नका लागि त्यहाँको सरकारले घरेलु समर्थकबाहेक बाँकी देशको समर्थकमा प्रतिबन्ध लगाएको थियो।
सेमिफाइनलमा स्पेन, डेनमार्क र इटालीको नगन्य समर्थक मात्र रंगशालामा उपस्थित भएका थिए। ती देशहरुमा कोभिडको महामारी धेरै फैलिएको भन्दै लण्डनको स्थानीय सरकारले विदेशी समर्थकलाई कम गरेको थियो।
फाइनल खेलका लागि वेम्बलीमा इटालीबाट आएका समर्थकले भने खेल हेर्न पाएका थिएनन्। इङ्ल्याण्डमै रहेको इटालीयन समर्थकले भने खेल हेर्ने अनुमति पाएका थिए।
त्यस्तै क्वार्टरफाइनल र अन्तिम १६ का खेलमा पनि विभिन्न देशले अन्य देशबाट आउने समर्थकमा नियन्त्रण गरेका थिए। त्यसअघि इङ्ल्याण्डको खेल इटालीको रोममा हुँदा पनि लण्डनस्थित इटालियन दूतावासले इटालीमा खेल हर्न नजान अनुरोध गरेको थियो।
इङ्ल्याण्डमा कोभिडको केस अत्यधिक बढेपछि इटालीका प्रधानमन्त्री मारिया ड्रघीले फाइनल खेल सार्नु पर्ने बताएका थिए भने र जर्मन चान्सलर एंगेला मर्केलले नयाँ योजना बनाउनु पर्ने बताएकी थिइन्।
तर त्यस्तो भएन्, जसले गर्दा अहिले युरोपका देशहरुमा कोरोना संक्रमण बढ्दै गएको छ। अहिले इङ्ल्याण्ड (बेलायत)मा सात लाखभन्दा धेरै सक्रिय संक्रमित छन् भने रसियामा साढे चार लाख, फ्रान्समा ६५ हजार र स्पेनमा तीन लाख पाँच हजार भन्दा धेरै छन्।