काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गरेकी छन्। नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित पुररस्कार समर्पण समारोहमा उनले नेपाल प्रज्ञालंकार, प्रज्ञा पुरस्कार र राष्ट्रिय कविता महोत्सव पुरस्कारद्वारा २१ प्रतिभालाई सम्मानित एवं पुरस्कृत गरेकी हुन्।
राष्ट्रपतिले मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका प्राध्यापक वाङ हङ्वेईलाई कुलपति गंगाप्रसाद उप्रेतीमार्फत तीन हजार अमेरिकी डलर राशिसहितको नेपाल प्रज्ञालंकार पदवीबाट सम्मानित गरेकी थिइन्। अस्वस्थताका कारण समारोहमा अनुपस्थित वाङलाई नगद पुरस्कार उनले उपलब्ध गराएको बैंक खातामा दाखिला गरिनेछ भने सम्मानपत्र कुलपतिमार्फत वाङलाई हस्तान्तरण गरिनेछ।
राष्ट्रपति भण्डारीले भारतको आसामका साहित्यकार लीलबहादुर क्षेत्रीलाई कुलपतिमार्फत भानु प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कार अर्पण गरिन्। क्षेत्री स्वास्थ्यका कारणले स्वयं उपस्थित हुन असमर्थ भएका कारण कुलपतिमार्फत उक्त पुरस्कार अर्पण गरिएको हो।
राष्ट्रपति भण्डारीले भारतको आसामका साहित्यकार लीलबहादुर क्षेत्रीलाई कुलपतिमार्फत भानु प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कार अर्पण गरिन्।
कुलपति उप्रेतीमार्फत परिस्थिति अनुकूल भएपछि क्षेत्रीलाई सम्मानपत्र हस्तान्तरण गरिनेछ भने रु दुई लाख राशिको नगद पुरस्कार उनले उलब्ध गराएको बैंक खातामा दाखिला गरिनेछ।
यसैगरी पूर्वघोषित नेपाल प्रज्ञा अनुवाद पुरस्कारबाट प्रसिद्ध अनुवादक कृष्णप्रकाश श्रेष्ठ (श्रेष्ठ कोभिड–१९ का कारण गत चैत १६ गते निधन भएकाले उहाँका भाइ साहित्यकार तेजप्रकाश श्रेष्ठ) लाई पुरस्कार प्रदान गरिएको थियो। राष्ट्रपतिद्वारा समारोहमा प्रा डा वीरेन्द्रप्रसाद मिश्र नेपाल प्रज्ञा सामाजिक शास्त्र/संस्कृति/दर्शनशास्त्र पुरस्कार, प्रा डा तेजरत्न कंसाकार नेपाल प्रज्ञा भाषा पुरस्कार र हरिहर खनाल नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कारद्वारा पुरस्कृत भएका छन्। यी पुरस्कारको राशि रु दुईदुई लाख छ। डा मिश्रले आफूले पाएको राशि प्रतिष्ठानमा दर्शनशास्त्र अध्ययन कोष स्थापनाका लागि फिर्ता गरे।
यसैगरी रविमान लम्जेललाई नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार (२०७८), पूर्णबहादुर वैद्य (पूर्ण वैद्य) लाई नेपाल प्रज्ञा मातृभाषा (नेपालभाषा) साहित्य पुरस्कार (हिमालीपहाडी क्षेत्रमा बोलिने मातृभाषाका साहित्यका लागि–२०७७), इन्द्रबहादुर गुरुङलाई नेपाल प्रज्ञा मातृभाषा (गुरुङ भाषा) साहित्य पुरस्कार (हिमालीपहाडी क्षेत्रमा बोलिने मातृभाषाका साहित्यका लागि–२०७८), चतुर्भुजलाल दास केवरत नेपाल प्रज्ञा मातृभाषा (केवरत भाषा) साहित्य पुरस्कार (तराईमधेस क्षेत्रमा बोलिने मातृभाषाका साहित्यका लागि–२०७७) र हंसावती कुर्मीलाई नेपाल प्रज्ञा मातृभाषा (अवधि भाषा) साहित्य पुरस्कार (तराईमधेस क्षेत्रमा बोलिने मातृभाषाका साहित्यतर्फ–२०७८)का लागि राष्ट्रपतिले पुरस्कृत गरेकी छन्।