काठमाडौं- केही दिनअघि नयाँ शक्ति पार्टी परित्याग गरेका केशव दाहाल विवेकशिल साझा पार्टीको उच्च नेतृत्वमा संलग्न भएका छन्।
विगत दश वर्षदेखि वैकल्पिक राजनीतिको अभियान चलाउँदै आएका तथा गत दुई वर्षदेखि नयाँ शक्ति पार्टी नेपालको उच्च नेतृत्वमा रहेका दाहालले करिब १० दिनअघि मात्रै नयाँ शक्ति पार्टीबाट राजीनामा दिएका थिए।
नेपालको प्रगतिशील, लोकतान्त्रिक आन्दोलनसँग जोडिएका विभिन्न राजनीतिक तथा सामाजिक मञ्चहरुमा करिब दुइ दशकदेखि सक्रीय दाहालले लोकतन्त्र, सामाजिक न्याय र सम्बृद्धिको अभियानमा सहभागी हुँदै २० भन्दा बढी मुलुकहरुमा आफ्नो राजनीतिक, सामाजिक तथा अन्य अभियानहरुको नेतृत्व गर्दै अवधारणापत्र र विचारहरु प्रस्तुत गरेका छन्।
पार्टी परित्यापछि दाहालले जति प्रयत्न गरे पनि नयाँ शक्ति पार्टीबाट वैकल्पिक राजनीतिको लक्ष्य हासिल हुनै नसक्ने निश्कर्षमा पुगेपछि पार्टी परित्याग गर्नुपरेको बताएका थिए ।
दाहालको ‘नेपाली राजनीतिको पूनर्गठन’ नामक पुस्तक प्रकाशित छ। उनले अन्य विभिन्न पुस्तकहरुमा सहलेखन र सम्पादन गरेका छन् जसमध्ये ‘वैकल्पिक विचार मन्च’द्धारा प्रकाशित ‘संघीयता र पुर्वीतराई’ तथा ‘लोकतन्त्रदेखि लोकतन्त्रसम्म’ मुख्य छन्। उनी नेपालका प्रमुख पत्रपत्रिकाहरूमा नियमतिरूपमा स्वतन्त्र लेखन पनि गर्दछन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४