काठमाडौं- क्युबामा कम्युनिष्ट सरकारविरुद्ध ऐतिहासिक विरोध प्रदर्शन भएको छ।
राजधानी हभानालगायत अन्य सहरमा लाखौं मानिस प्रदर्शनमा उत्रिएका छन्। पछिल्लो ३० वर्षमा क्युबामा यति ठूलो विरोध प्रदर्शन नभएको बताइएको छ।
प्रदर्शनकारीले स्वतन्त्रता, लोकतन्त्रको मागका साथै कोरोना महामारीसँग लड्नका लागि खोपको माग गरेका छन्। राजधानी हभानामा प्रदर्शनकारीहरुलाई रोक्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। थुप्रै ठाउँमा झडप र गिरफ्तारका घटना भएको बताइएको छ।
क्युबाका राष्ट्रपति मिगेल डियाज-क्यानलले सरकार विरोधी प्रदर्शनका लागि अमेरिका जिम्मेवार रहेको बताएका छन्। साथै उनले विरोधीहरुको प्रतिवाद गर्न आफ्ना कार्यकर्तालाई अपीलसमेत गरेका छन्।
उनले भनेका छन्, ‘देशका सबै क्रान्तिकारी तथा सबै कम्युनिष्ट कार्यकर्तालाई बाहिर निस्किएर विरोध प्रदर्शन भएका ठाउँमा गएर विरोधको दृढताका साथ सामाना गर्नुहोस्।’
राजधानी हभानमा सरकार समर्थकको पनि र्याली निस्किएको छ।