काठमाडौं– कवि दुर्गालाल श्रेष्ठले ‘रमाइला नानी बालसाहित्य पुरस्कार’ पाएका छन्। सो पुरस्कार साहित्यकार कृष्णप्रसाद पराजुलीको स्मृतिमा उनकै बाल कविता संग्रह ‘रमाइला नानी’ लाई स्मरण गर्दै स्थापना गरिएको हो। ‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार’ का स्रष्टा ८७ वर्षीय कवि दुर्गालाल श्रेष्ठ सो पुरस्कार पाउने चाैथाे स्रष्टा हुन्। यसअघि माधवप्रसाद घिमिरे, श्यामदास वैष्णव, शान्तदास मानन्धरले सो सम्मान पाइसकेका छन्।
‘बालबालिकाको संसार मेरो स्वर्ग हो। म बालगीत लेख्छु, अर्ती दिन होइन, बालबालिकाको पवित्रता छुन,’ कवि दुर्गालाल श्रेष्ठ भन्छन्, ‘बालगीत लेख्नु बालक हुन पाउनु हो।’ उनले याे पुरस्कारलाई एउटा साथीले अर्काे साथीलाई पठाएकाे प्रेमपत्रका रुपमा लिएकाे बताए।
१९९२ साउन कृष्ण एकादशीका दिन काठमाडौंको न्हैकन्तलामा जन्मिएका कवि दुर्गालाल श्रेष्ठको २००८ सालदेखि नेपाल भाषामा फुटकर रचना प्रकाशित हुन थालेको हो।
आईएपछि स्वाध्यन गरेका उनले २००९ सालदेखि २०४१ सालसम्म शिक्षण पेसामा रहँदा कन्या मन्दिर माविदेखि महेन्द्ररत्न क्याम्पस र पब्लिक युथ क्याम्पसमा अध्यापन गरे। उनले २०४८ सालदेखि मात्र नेपाली भाषामा रचना गर्न थालेका हुन्। त्यति बेला उनी शिक्षण पेसाबाट निवृत्त भइसकेका थिए।
त्यसअघि उनको कलम नेपाल भाषामै कन्द्रित थियो। १९९८ सालमा सुरु भएको आधुनिक नेपाल साहित्यको स्वच्छन्दतावादी धाराका प्रतिभाका रुपमा स्थापित दुर्गालालले नेपाल भाषामा कविता, गीत, नाटक, कथा, निवन्ध विधामा कलम चलाएका छन्।
कवि श्रेष्ठका कविता संग्रह, गीत संग्रह, खण्डकाव्य, नाटक, बालखण्डकाव्य प्रकाशित छन्। साथै उनले चिनियाँ, नेपाल, हिन्दी, बंगला, रुसी, संस्कृत भाषाका रचनालाई उनले नेपालीमा अनुवाद गरेका छन्। श्रेष्ठको नेपाल भाषाका पाठ्यपुस्तक ‘पलिस्वाँ’ का पाँच भाग र ‘लुँहिति’को तीन भाग प्रकाशित छ ।
एक सक्षम नाटककार तथा नाटक निर्देशक श्रेष्ठका नाटक र एकांकी मञ्चित तथा प्रकाशित छन्। गोदाबरी एल्मुलाई एसोसिएसनद्वारा आयोजित नाटक महोत्सवमा उनी उत्कृष्ट निर्देशकले पनि सम्मानित भएका थिए।
उनको कविता संग्रह, गीत संग्रह, खण्डकाव्य, नाटक, बालखण्डकाव्य प्रकाशित छन्। साथै उनले चिनियाँ, नेपाल, हिन्दी, बंगला, रुसी, संस्कृत भाषाका रचनालाई उनले नेपालीमा अनुवाद गरेका छन्। श्रेष्ठको नेपाल भाषाका पाठ्यपुस्तक ‘पलिस्वाँ’ का पाँच भाग र ‘लुँहिति’को तीन भाग प्रकाशित छ ।
‘संस्कृत, नेपाल र नेपाली हिन्दी कवितामा प्रचलित वर्ण मात्रिक, मात्रिक र वार्णिक लोक छन्दसमेतको मधुर शब्द गुञ्जनामार्फत अत्यन्त मार्किम तथा कलात्मक उच्च भावहरुको व्यन्जना र सम्प्रेषण गर्ने सहज शैलीका सामथ्र्यले गर्दा उहाँ श्रेष्ठ कवि हुनुहुन्छ,’ कवि रामबाबु सुवेदी भन्छन्। साथै, कार्यक्रमका प्रमुख अतिथि शान्तदास मानन्धरले दुर्गालाललाई बाल साहित्य लेखनमा लाग्न हुटहुटी जगाएकाे प्रसंग उल्लेख गरे।

दुर्गालालको धेरै कविता प्रसिद्ध छन् तीनमध्यै एउटा हो –तीतो–तीतो जीवन भोगी मीठो–मीठो गाउनु गान। पुरस्कार प्रदान गर्ने कार्यक्रम जुममार्फत गत साता पराजुलीको जन्मजयन्तीका दिन आयोजना गरिएको थियो। कार्यक्रममा बालसाहित्य सर्जक शान्तदास मानन्धर, बुँद राना, रामबाबु सुवेदी, डा.रजनी ढकाल, डा. तीर्थबहादुर श्रेष्ठ, प्रभा भट्टराई, गृष्मा पौड्याल, यादव भट्टराई, शाश्वत पराजुलीको सहभागिता थियो।
‘रमाइला नानी बाल साहित्य पुरस्कार सम्मान’ बर्सेनि पराजुलीको स्मृतिमा स्थापित कृष्ण साहित्य सदनले प्रदान गर्दै आएको छ। भाषा व्याकरणका क्षेत्रमा ‘राम्रो रचना मीठो नेपाली’ पुस्तकले अमर बनेका साहित्यकार पराजुलीका दर्जनौं पुस्तक प्रकाशित छन्। उनी नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित ‘नेपाली बृहत् शब्दकोश’ का सम्पादकमध्येका एक हुन्।
‘धर्तीको फूलबारीमा रम्न बालबालिकाको हृदय लिनुपर्छ। उनीहरुको स्वच्छ हृदयमा कुनै किसिमको दाग र कलंक हुँदैन। उनीहरु आफूमै, आफ्ना कुरामै र आफू वरिपरिका वातावरणमा राउँछन् र आनन्द पाउँछन्। उनीहरुको आफ्नै पवित्र संसार हुन्छ।'
नेपाली बाल साहित्यमा लोकलयलाई समातेर मौलिक सिर्जना गरिएको बाल गीत कविता संग्रह ‘रमाइला नानी’ को प्रथम र दोस्रो खण्ड २०२२ सालमा सहयोगी प्रकाशनबाट प्रकाशित भएको हो। २०२५ सालमा सो संग्रहको तेस्रो भाग प्रकाशित भएको थियो। हालसम्म रमाइला नानीको दर्जनौं संस्करण र मुद्रण भइसकेको छ।
बालकविता संग्रहको भूमिकामा पराजुलीले लेखेका छन्– ‘धर्तीको फूलबारीमा रम्न बालबालिकाको हृदय लिनुपर्छ। उनीहरुको स्वच्छ हृदयमा कुनै किसिमको दाग र कलंक हुँदैन। उनीहरु आफूमै, आफ्ना कुरामै र आफू वरिपरिका वातावरणमा राउँछन् र आनन्द पाउँछन्। उनीहरुको आफ्नै पवित्र संसार हुन्छ। त्यसै संसारमा घाम–पानी, फूल–कोपिला, माटो–हवाईजहाजलाई आफ्नो तुल्याएका हुन्छन् र तीनै साधनद्वारा उनीहरु संसारका गुह्यभन्दा गुह्य कुरालाई पनि उद्घाटित गर्न सक्छन्। त्यसैले हरेक बालबालिका कवि हुन्।’
बालबालिकालाई कवि देख्ने पराजुलीको निधन २०७० साल चैतमा ७९ वर्षमा भएको थियो।