काठमाडौं- संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले विभिन्न क्षेत्रमा योगदान पुर्याएका श्रष्टाहरुलाई पुरस्कार हस्तान्तरण गरेको छ।
शुक्रबार बालुवाटारमा एक कार्यक्रमबीच मन्त्रालयले श्रष्टाहरुलाई पुरस्कार हस्तान्तरण गरेको हो।
भाषा एवं साहित्य गरी चार विधागत क्षेत्रका योगदान दिएका प्रा. गोपीकृष्ण शर्मा गौतम, प्रा. डा. कैलाश नाथ प्याकुरेल, हरि प्रसाद शर्मा र मदनकृष्ण श्रेष्ठलाई जनही एक लाखको राष्ट्रिय प्रतिभा पुरस्कार र सातैवटा प्रदेशबाट चारवटै विधागत क्षेत्रका विभिन्न स्रष्टाहरुलाई रु. पचास हजार नगदसहित प्रादेशिक प्रतिभा पुरस्कार र सम्मानपत्रले सम्मानित गरेको हो।
महाकवि देवकोटा पुरस्कारबाट कविता निबन्ध गद्याख्यान/नाटक बालसाहित्य र भाषा साहित्य गरी पाँच विद्यामा एक लाख रुपैयाँ नगद र सम्मानपत्रबाट पाँच जना सर्जकलाई सम्मान गरिएको छ।
मन्त्रालयले भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार तीनवटा विषयगत विधामा रु. एक लाख नगद र सम्मानपत्रबाट तीन जना स्रष्टालाई सम्मान गरेको छ। यस्तै गोपाल प्रसाद रिमाल राष्ट्रिय पुरस्कार रु. एक लाख र सम्मानपत्रका साथ दुई जना सर्जकलाई सम्मान गरेको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा ४२ जना सर्जकलाई पुरस्कार हस्तान्तरण गरिएको हो।