दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति जैकब जुमाले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। अदालतको अपमान गरेको अभियोगमा दोषी ठहर भएका पूर्वराष्ट्रपति पक्राउ पर्नुअघि आफैं प्रहरीकहाँ गएका हुन्।
जुमाद्वारा सञ्चालित एक फाउन्डेसनले बताएअनुसार उनी बुधबार राति क्वाजुलु नताल प्रान्तको आफ्नो घर नजिकै रहेको एक जेलमा उपस्थित भएका थिए। प्रहरीले ७९ वर्षीय जुमालाई बुधबार रातिसम्म आत्मसमर्पण नगरे गिरफ्तार गर्ने चेतावनी दिएको थियो।
जुमालाई पछिल्लो हप्ता भ्रष्टाचार छानविनमा सहभागी नभएको भन्दै १५ महिनाको जेल सजाय सुनाइएको थियो। त्यसपछि उनलाई प्रहरीले बुधबारसम्ममा आत्मसमर्पण गर्न चेतावनी दिएको थियो।
जुमाले आइतबार आत्मसमर्पण गर्ने कुरालाई इन्कार गरिदिएका थिए। त्यसपछि प्रहरीले आत्मसमर्पण गर्नका लागि बुधबारसम्मको समय दिएको थियो। ‘राष्ट्रपति जुमाले कैद आदेशको पालना गर्ने फेसला गर्नु भएको छ,’ फाउन्डेसनका एक अधिकारीले भनेका छन्।
जुमा जेल जाने पहिलो दक्षिण अफ्रिकी राष्ट्रपति बनेका छन्। उनकी छोरी दूदू जुमाले ट्विटरमा लेखेकी छन्, ‘मेरा बुवा जेलको बाटोमा हुनुहुन्छ तैपनि खुशी हुनुहुन्छ।’
जुमामाथि २९ जुनमा आफ्नो कार्यकालका दौरान भ्रष्टाचारको जाँचमा प्रमाण दिन जारी गरेको निर्देशनको अपहेलना गरेको आरोप लागेको छ। सोही आरोपमा उनलाई १५ महिनाको जेल सजाए सुनाइएको हो।
उनले आफ्नो कार्यकालमा व्यवसायीबाट सरकारी निर्णय लिने प्रक्रियालाई प्रभावित गर्नका लागि राजनीतिज्ञका साथ षड्यन्त्र रच्ने गरेको आरोप छ।
गत आइतबारमात्रै समर्थकले उनको गिरफ्तारीलाई रोक्नका लागि घर बाहिर मानव साङ्लो बनाएका थिए। बुधबार उनले आत्मसमर्पण गर्नुअघि पनि यस्तै भीड उनको घर बाहिर जम्मा भएको थियो।
बीबीसी संवाददाता फारुक चोथियाका अनुसार जैकब जुमा एक सानदार राजनीतिज्ञ हुन्। दक्षिण अफ्रिकाको रंगभेदी नश्लवादी व्यवस्थाविरुद्ध लडेका उनले जेल सजाय पनि भोगेका थिए।
यतिबेला भने उनीमाथि भ्रष्टाचारको गम्भीर आरोप छ। दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो अदालतको अपमान गरेको आरोप उनीमाथि लागेको छ। जुमा तिनै नेता हुन्, जो लोकतन्त्रका लागि लडेका थिए। न्यायपालिकाको स्वतन्त्रताका लागि लडेका नेता नै राष्ट्रपति हुँदा गरेको भ्रष्टाचार आरोपबाट जोगिन अदालतको अपमान गरिरहेका छन्।
चोथियाका अनुसार जुमाको राजनीतिक भविष्यको यो एक सर्मनाक अन्त्य हो। तर, दक्षिण अफ्रिकाको लोकतन्त्रका लागि एक गर्वको विषय हो। किनकी यसले कानुन भन्दा कोही पनि नहुने पुष्टि गरिदिएको छ।