काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) भित्रको विवाद निरुपण गर्न निर्वाचन आयोगले पाँच सदस्यीय इजलास गठन गरेकाे छ।
आयोगको बुधबारको बैठकले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा इजलास गठन गरेको हो।
इजलासमा पाँचै जना आयुक्त सदस्य छन्। प्रमुख निर्वाचन आयुक्त थपलियाले इजलास गठन भएको र विवाद निरुपणबारे साउन ३ गते इजलासको बैठक राखिएको जानकारी दिए। बैठक बिहान ११ बजे बस्ने छ।
‘आज हामीले तीनवटा निर्णय गरेका छौं’, उनले भने, ‘इजलास गठन गरेका छौं। त्यो गठन भएपछि कम्तिमा ७ दिन समय दिनुपर्ने हुन्छ। हामीले ८/९ दिन दिएका छौं।’ उनले आउँदो साउन ३ गते बिहान ११ बजेदेखि दुवै पक्षको आधिकारिक प्रतिनिधिसहित छलफल हुने जानकारी दिए।
‘अख्तियार प्राप्त आधिकारिक प्रतिनिधिसहित निर्णय गरेर पठाउन भनिएको छ’, उनले भने, ‘कानून व्यवसायी मुकरर गर्ने भएमा कानुन व्यवसायी पनि पठाउनु भनेका छौं।’ उनले साउन ३ गतेदेखि इजलासले सुनुवाइ प्रक्रिया अघि बढाउने र आवश्यक निर्णय गर्ने बताए।
जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार पार्टीको आधिकारिता विवाद टुंग्याउन माग गर्दै आयोगका निवेदन दिएको थियो।
दुवै पक्षलाई बोलाएर सहमति जुटाउने प्रयास असफल भएपछि इजलास गठन गरेर सुनुवाइ अघि बढाउन लागिएको हो।