काठमाडौं– पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई आफ्नो सार्वभौम अधिकार प्रयोग गर्न नदिने डिजाइनको खलपात्र प्रधानमन्त्री केपी ओली बनेको आरोप लगाएका छन्। पाँच दलीय विपक्षी गठबन्धनका विद्यार्थी संगठनका अध्यक्षहरूसँगको छलफलमा प्रचण्डले यस्तो बताएका हुन्।
'जनतालाई आफ्नो सार्वभौम अधिकार प्रयोग गर्न नदिने डिजाइनको खलपात्र ओलीजी बन्नुभएको छ,' विद्यार्थी नेताहरूसँग उनले भने। जनताका पक्षमा दृढ रहेर आन्दोलनमा सहभागी गराइराख्न युवा विद्यार्थीले प्रेरित गर्नुपर्ने उनको भनाइ थियो। विद्यार्थीहरुले परिस्थितिको सही मूल्यांकन गर्दा युवाहरूमा सही कुराको सम्प्रेषण हुने उनले प्रष्ट पारे।
केपी ओली र आफूहरु कुनै पनि कोणबाट उस्तै नभएको दाबी उनको छ। विगतदेखिका नेपाली इतिहासका तथ्य र प्रमाणहरुले ओली र आफू उस्तै नभएको प्रष्ट गरेको उनको भनाइ छ।
‘सम्पूर्ण रूपमा आत्मसर्मपण गर्ने केपी ओली र हामी त्यसका विरुद्ध विद्रोह गर्ने उस्तै हुनै सक्दैन। २०१७ साल तिर केशरजंग रायमाझी सामन्तका पक्षमा लागे भने पुष्पलाल जनताको अधिकारका लागि लडे। दुवैलाई उस्तै भन्ने त?,’ उनले भने।
भेटमा विद्यार्थी नेताहरूले केपी ओलीबाट सुशासनको अपेक्षा गरिएको भएपनि कुशासन भोग्नुपरेको बताएका थिए। केपी ओली भन्दा फरक शैलीमा देश सञ्चालन गर्ने, संविधानको रक्षा गर्ने र जनताको अधिकार सुनिश्चित गर्ने दलहरुको प्रतिबद्धता दिलाउने कार्यक्रमका लागि सहभागी भइदिन विद्यार्थी नेताहरुले प्रचण्डलाई निम्तो पनि दिएका छन्।