काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को दल दर्ता खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन पेस भएको छ। एमालेमा लागेका रामबहादुर थापा ‘बादल’ निकट पूर्वमाओवादी नेताहरुले निर्वाचन आयोगमा निवेदन दर्ता गराएका हुन्।
लामो समय अधिवेशन नगरेको भन्दै माओवादी केन्द्र अवैधानिक रहेको दाबीसहित पूर्व माओवादीका केही नेताहरुले आयोगमा निवेदन बुझाएका हुन्। निर्वाचन आयोगका प्रवक्ता एवम् सहसचिव राजकुमार श्रेष्ठले नेकपा माओवादी केन्द्रको दल दर्ता खारेज हुनुपर्छ भनेर आयोगमा निवेदन दर्ता भएको जानकारी दिए।
एमालेमा लागेका पूर्व माओवादी केन्द्रका नेता लिलाबहादुर थापाले नेकपा माओवादी केन्द्रलगायत अन्य दलहरु वैधानिक हिसाबले नचलेको भन्दै संविधानको मर्मअनुसार चलुन् भनेर निवेदन दिइएको बताए।
‘अधिवक्ता सरोज बुढाथोकी निवेदक रहेको पत्र आयोगमा दर्ता गरिएको छ,’ उनले भने, ‘नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को दलीय हैसियत संघीय कानुन र संविधान बमोजिम समाप्त भइसकेको छ। त्यसैले दल दर्ता खारेजी हुनुपर्छ भन्ने आशय छ।’ प्रवक्ता श्रेष्ठले आयोगमा दर्ता भएको निवेदनका विषयमा अध्ययन गरेर निर्णय लिइने जानकारी दिए।
एमालेमा लागेका पूर्व माओवादी केन्द्रका नेता लिलाबहादुर थापाले नेकपा माओवादी केन्द्रलगायत अन्य दलहरु वैधानिक हिसाबले नचलेको भन्दै संविधानको मर्मअनुसार चलुन् भनेर निवेदन दिइएको बताए।
‘दलहरु अवैधानिक भए आयोगले कारबाही गर्ने हैसियत राख्छ। समयमा महाधिवेशन नगर्ने, समावेशितालाई नमान्ने, विधि विधान र कानुन अनुसार नचल्ने दललाई आयोगले कारबाही गर्नुपर्छ,' उनले भने, ‘अहिले हामीले माओवादी केन्द्रकै विषयलाई समेटेर निवेदन दिएका हौं। यसले अन्य दललाई पनि सचेत गराउँछ।’
एमालेमा प्रवेश गरेर अवैध भएको मुद्दा उठाइएको तपाईहरूमाथि छ नि भन्ने प्रश्नको जवाफमा उनले भने, ‘त्यो होइन। कसैलाई लक्षित गर्न मिल्दैन। दलहरु अवैधानिक रुपले अरुलाई कारबाही गर्ने तर आफू भने विधान अनुसार नचलेकाले सचेत गराउन खोजेका हौं।’
नेकपा माओवादी केन्द्रले आफूहरुलाई गरेको कारबाही नै अवैध रहेको उनीहरुको जिकिर छ। २०६९ माघ २० देखि २६ सम्म यसअघि तत्कालीन एकीकृत नेकपा माओवादीको हेटौडौंमा महाधिवेशन भएको थियो। त्यसपछि नेकपा माओवादी केन्द्र बनाइएको थियो। आयोगमा २०७३ सम्म महाधिवेशन गर्ने जानकारी गराए पनि माओवादी केन्द्रको महाधिवेशन हुन सकेको छैन। २०७५ जेठ ३ देखि २०७७ फागुन २३ सम्म एकताको समयमा शून्य समय मानिएको अवस्था भए पनि माओवादी केन्द्रले एमालेसँग एकता गरी नेकपा बनाउनुपूर्व नै सकिएको थियो। बादल निकट नेताहरू लिलाबहादुर थापा, दिनेश पन्थी, रामचन्द्र मण्डल, गिरिधरी न्यौपानेलगायत आयोगमा निवेदन दर्ता गराएका हुन्।