काठमाडौं- वरिष्ठ नेता माधवकुमार नेपालले भेट गर्न अस्वीकार गरेपछि नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले नेता भीम रावललाई बालुवाटारमा बोलाएर सोमबार छलफल गरे। पार्टीमा देखिएको समस्या समाधानका विषयमा कुराकानी गर्न ओलीले रावललाई बालुवाटारमा निम्ता गरेका थिए।
नेपाल पक्षबाट एमाले विवाद समाधान कार्यदलको नेतृत्व गरिरहेका रावलसँगको भेटपछि कार्यदल ब्युँतिएर सोमबार र मंगलबार बैठक बस्यो। कार्यदलको बैठकमा कुराकानी सकारात्मक रूपमा अघि बढेको नेताहरूले बताएका छन्। बुधबार पनि कार्यदलको बैठक बसेको छ। बैठकपछि माधव नेपाल पक्षका नेता तथा पार्टी सचिव गोकर्ण विष्टले केही दिनदेखिको छलफल सकारात्मक दिशामा अघि बढेको प्रतिक्रिया दिए। विवादको समाधान खोज्न अनौपचारिक छलफल लामो समयदेखि जारी रहे पनि तीन दिनयता नेताहरू औपचारिक छलफलमा छन्।
शनिबार बालुवाटारमा बसेको ओली पक्षको केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतले फैसला गर्नुअघि नै नेपाल पक्षका नेताहरूलाई ‘सच्चिन’का लागि मौका दिइने बताएका थिए। यसअघि सोमबार साँझ ५ बजेसम्ममा नै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्तावमा गरिएको हस्ताक्षर फिर्ता लिनुपर्ने नत्र कारबाही अघि बढ्ने ओली पक्षले निर्णय गरेको थियो। नेपाल पक्षसँग वार्ता गर्न अध्यक्ष ओलीले सोमबारको समयसीमालाई बढाएर सर्वोच्चको फैसला आउने मितिसम्म लम्ब्याएको देखिएको छ। नेपाल पक्षले भने हस्ताक्षर फिर्ता लिन नसकिने बताउँदै आएको छ।
शनिबारको बैठकमा प्रधानमन्त्री ओलीले सर्वोच्चको फैसला आएको भोलिपल्ट ११ बजे केन्द्रीय कमिटीको बैठक बस्ने र त्यसले पार्टी जीवनमा असाधारण निर्णय लिने बताएका थिए। यद्यपि त्यो असाधरण निर्णय के हुन्छ भन्नेचाहिँ ओलीले खुलाएका छैनन्।
पार्टीलाई २०७५ जेठ २ गतेकै संरचनामा फर्काउनुपर्ने नेपाल पक्षको मागविपरीत दसौँ महाधिवेशन आयोजक कमिटी बनाएर एकपछि अर्को निर्णय गर्दै नेपाल पक्षलाई कारबाही गर्न ओली उद्यत थिए। तर ओली पक्षको उक्त कमिटीको पछिल्लो बैठकले महाधिवेशन कमिटीलाई भंग गरी केन्द्रीय कमिटीमा रूपान्तरण गरेको छ। नेपाल पक्षले भने २०७५ जेठ २ मा पार्टीका संरचना जस्तो अवस्थामा थिए, त्यही अवस्थामा फर्काउनुपर्ने माग गर्दै आएको छ।
शनिबारको बैठकमा प्रधानमन्त्री ओलीले सर्वोच्चको फैसला आएको भोलिपल्ट ११ बजे केन्द्रीय कमिटीको बैठक बस्ने र त्यसले पार्टी जीवनमा असाधारण निर्णय लिने बताएका थिए। यद्यपि त्यो असाधरण निर्णय के हुन्छ भन्नेचाहिँ ओलीले खुलाएका छैनन्। फैसलाको भोलिपल्ट बैठक बस्ने कुरा एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले पनि बताएका छन्।
‘एमालेको चौधौं बैठक प्रतिनिधिसभा विघटन सम्बन्धी सर्वोच्चको फैसला गरेको भोलिपल्ट बस्नेछ। देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिलाई निवेदन दिएका र सर्वोच्चमा हस्ताक्षर गरेका पूर्वसांसदलाई फैसला हुनुअघिसम्म सच्चिनको लागि समय दिएइको छ,’ प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकारसमेत रहेका थापाले बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै भनेका छन्, ‘त्यतिञ्जेलसम्ममा सच्चिनेहरू सच्चिनुपर्छ, अध्यक्षज्यूले दोबाटो त्यतिञ्जेलसम्म मात्र हो भनेर बैठकलाई जानकारी गराउनुभएको छ।’
000
यीलगायत ओलीका पछिल्ला केही गतिविधिले उनी रक्षात्मक देखिएका हुन् कि भन्ने अनुमान राजनीतिक वृत्तमा गर्न थालिएको छ। तर, प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष ओली कहिले लचक बनेजस्तो गरिदिने र कहिले आक्रामक रूपमा प्रस्तुत हुने शैली अपनाउने भएकाले यसलाई पनि उनले आफ्नो दाउपेचकै रणनीति बनाएको विश्लेषण पनि गर्न थालिएको छ।
प्रधानमन्त्री ओलीसँग लामो समय राजनीतिक संगत र सहकार्य गरेका नेता राधाकृष्ण मैनाली यतिबेला ओली कमजोर बनेको बताउँछन्। यसअघि ओली आवश्यकताभन्दा बढी आक्रामक रूपमा प्रस्तुत भएकाले पनि अहिले आएर बढी कमजोर हुनुपरेको उनको तर्क छ।
‘ओली कमजोर देखिनुभएको हो। यसअघि जति आक्रामक हुनुपर्थ्यो, त्योभन्दा बढी आक्रामक हुनुभयो। आफ्नै पार्टीमा सहकार्य र सहमतिलाई दुत्कारेकाले पनि अहिले कमजोर बन्नुपरेको हो,’ उनले भने।
ओलीको लहडका कारण पार्टी, सरकार र संविधान धरापमा परेको मैनालीले दाबी गरे। ‘ओली बलियो हुँदा संविधान र पार्टी कमजोर हुन्छ। ओली कमजोर हुनु पार्टी, देश र संविधानका लागि राम्रो हो,’ उनले भने।
सरकारबाट नै हात धुनुपर्ने सम्भावनाको अवस्था आएकाले ओली रक्षात्मक देखिएको उनको भनाइ छ। प्रतिनिधिसभा विघटनको कदमले ओलीलाई झनै चुनौती थपेको मैनाली बताउँछन्। प्रतिनिधिसभा विघटनको मुद्दामा फैसला आउने मिति नजिकिएसँगै ओलीले आफू कमजोर भएको महसुस गर्न थालेको मैनालीको तर्क छ।
ओलीको लहडका कारण पार्टी, सरकार र संविधान धरापमा परेको मैनालीले दाबी गरे। ‘ओली बलियो हुँदा संविधान र पार्टी कमजोर हुन्छ। ओली कमजोर हुनु पार्टी, देश र संविधानका लागि राम्रो हो,’ उनले भने।
‘राष्ट्रियसभा उपनिर्वाचनमा लगातारको पराजय, गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई गुमाउनुपरेको र लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलको पद पनि संकटमा परेकाले ओली कमजोर बनेको भन्न गाह्रो छैन,’ उनले भने। तर, कार्यदल ब्युँताउनेलगायत ओलीका पछिल्ला गतिविधि भने माधव नेपालको शक्ति बलियो भएका कारण नभएको उनको तर्क छ। नेता नेपाललाई पनि राइफलको गोली बनाउन खोजिएको उनले टिप्पणी गरे। छ। ‘माओवादी केन्द्रबाट ओली पक्षको एमालेमा आएका रामबहादुर थापा बादललाई पनि उहाँले राइफलको गोली बनाइसक्नु भएको छ। अहिले बादल खाली खोका बन्नुभएको छ। नेपाललाई पनि त्यस्तै गर्न खोज्या हो,’ मैनालीले भने।
000
राजनीतिक विश्लेषक श्याम श्रेष्ठ ओलीका पछिल्ला गतिविधिले उनी डगमगाएजस्तो देखिएको बताउँछन्। तर कहिले आक्रोश व्यक्त गर्ने कहिले आक्रामक रूपमा प्रस्तुत हुने र कहिले लचक बनिदिने ओलीको शैली भने केन्द्रमा आफू रहनकै लागि मात्र भएको उनको विश्लेषण छ।
‘ओली कहिले आक्रामक हुन्छन् भने कहिले लचक बनिदिन्छन्। व्यक्तिगत स्वार्थका लागि अनुकूल हुने गरी परिस्थिति हेरेर उनले यस्ता शैली अपनाउने गर्छन्,' विश्लेषक श्रेष्ठले भने, ‘आफू उत्साहित भएका बेला आक्रामक हुने र रक्षात्मक भएका बेला लचक हुने उनको शैली छ। तर यी दुवै शैलीको लक्ष्य एउटै हो– आफू केन्द्रमा हुने मात्र।’
अदालतको फैसला आफ्नो पक्षमा आउने वा नआउने टुंगो नहुने नभएकाले त्यसबेलासम्मका लागि मात्र ओली लचक बनेजस्तो देखिएको उनको विश्लेषण छ। ‘अदालतको फैसला अनुमान गर्न सकिन्न। फैसलाले प्रतिनिधिसभा विघटनलाई सदर नगरे माधव नेपाल पक्षको जित हुन्छ। आफूविरुद्ध फैसला आए नेपाल पक्षसँग नजिक बन्न ओलीले अहिले केही लचक बनेर वार्ता नीति अख्तियार गरेका हुन सक्छन्। आफ्नो पक्षमा फैसला आए ओली पुनः विगतकै अवस्थामा फर्कन्छन्।’ यद्यपि अहिले ओलीको कुर्सी डगमगाएको भन्न सकिने उनको विश्लेषण छ।
000
नेकपा एमालेका नेता टंक कार्की ओलीको रक्षात्मकतालाई एमाले एकतावादी शक्तिहरू बलियो भएका रूपमा अर्थ्याउँछन्। ह्याकुलाले मिचेर पार्टी चलाउँछु भन्ने प्रवृत्ति र त्यसविरुद्ध संघर्षरत दुवै खाले प्रवृत्ति काम नलागेको तर एमाले एकतावादी शक्तिको दबाब भने यतिबेला सबल बनेको उनको भनाइ छ।
अन्य कम्युनिस्ट पार्टीभन्दा एमाले भिन्न भएकाले तत्कालै विभाजन नहुने उनको दाबी छ।
‘एमालेका दुवै प्रवृत्ति काम लागेनन्। ह्याकुलाले मिचेर पार्टी र सरकार चलाउँछु भन्ने प्रवृत्ति पनि केही कमजोर भएको हो। त्यसविरुद्ध संघर्ष गरिरहेको प्रवृत्ति पनि केही कमजोर भएको भन्न सकिन्छ। तर एकतावादी शक्तिको बल थपिँदै गएको छ। कार्यदल ब्युँताउन पनि एमाले एकतावादी शक्तिकै दबाबका कारण सम्भव भएको हो,’ उनले भने।
अन्य कम्युनिस्ट पार्टीभन्दा एमाले भिन्न भएकाले तत्कालै विभाजन नहुने उनको दाबी छ। ‘एमाले थुप्रै ससाना खोल्साखाल्सीहरू मिलेर बनेको पार्टी हो। अन्य कम्युनिस्ट पार्टीजस्तो होइन। यो पार्टी विभाजनमा जाँदैन,’ पूर्व राजदूतसमेत रहेका कार्कीले भने, ‘एमालेलाई ग्रुमिङदेखि हेर्दै आउने हो भने विभाजन हुँदैन। अरू कम्युनिस्ट पार्टी टुक्राटुक्रा भएका छन्। तर एमालेमा त्यस्तो छैन।’
एमालेको नीति, उद्देश्य र सिद्धान्तमा मतभेद नभएको तर संरचना, संस्था र संस्कृतिमा समस्या भएको बताए। संरचना र संस्था र संस्कृति सुधार गर्न सकिने भएकाले एमाले तत्काल विभाजनमा नजाने तर्क उनले गरे।