काठमाडौं । रास्वपाले निर्वाचन केन्द्रित घरदैलोभन्दा फरक ढंगले नागरिकका दैनिक समस्या, गुनासा र अपेक्षा बुझ्न ‘हामी आउँदैछौं’ अभियान सुरु गरेको छ। रास्वपाले विभिन्न जिल्लामा केन्द्रीय नेता र सांसदहरूलाई खटाएर जनताका गुनासा सुन्ने अभियान गरिरहेको हो।
यसै अभियानअन्तर्गत कैलालीका जनताको घरदैलोमा रास्वपा केन्द्रीय सदस्य जानीका जोशी सक्रिय रहेकी छन्। शनिबार धनगढी उपमहानगरपालिका र अन्तरिया नगरपालिकाका जनताको घरदैलोमा उनको टोली पुगेकोमा आज कैलारी गाउँपालिका र भजनी नगरपालिका लगायतका क्षेत्रमा पुगको हो।
निर्वाचनको समयमा मात्रै मतदाताको घरदैलोमा पुग्ने प्रवृत्तिभन्दा बाहिर निस्केर जनताका दैनिक समस्या बुझ्न अभियान सञ्चालन गरिएको उनले बताइन्।
राज्यको केन्द्रीय संरचना र नागरिकको दैनिक जीवनबीच देखिएको दूरी कम गर्न जनतासँग प्रत्यक्ष सम्पर्क आवश्यक रहेको बताउँदै उनले घरदैलोका क्रममा नागरिकका गुनासा, सुझाव, आवश्यकता तथा अपेक्षा संकलन गरिने बताइन्।
अभियानका क्रममा पार्टीका स्थानीय नेता तथा कार्यकर्तासँग समेत छलफल भइरहेको उनले बताइन्। स्थानीय तहबाट प्राप्त सुझावलाई पार्टीको आगामी नीति निर्माण, संगठन सुदृढीकरण तथा जनप्रतिनिधिको भूमिकालाई प्रभावकारी बनाउन प्रयोग गरिने जोशीले जानकारी दिइन्।
जोशी रास्वपाको संगठन विस्तारमा सुरुवाति दिनदेखि नै सक्रिय छन्।