काठमाडौं– धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलन हुन थालेको ३ साताभन्दा धेरै भएको छ। उपकुलपतिलगायत प्रतिष्ठानका पदाधिकारीहरुले नै अनियमितता गरेको आरोप लगाउँदै स्वास्थ्यकर्मी तथा चिकित्सकहरु आन्दोतिल भएका छन्।
आन्दोलरत पक्षले ४ पदाधिकारीको कार्यकक्षमा ताला लगाएका छन्। ताला लगाएको ८ दिन हुँदा पनि अझै खुलेको छैन। उनीहरुले ४ पदाधिकारीको राजीनामा माग गरेका छन्। हरेक दिन ८ बजेदेखि १० बजेसम्म उनीहरुले अस्पतालमा प्रदर्शन र सभा गर्ने गरेका छन्।
आन्दोलन सुरु भएको २१ औं दिनमा सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समन्वयका लािग टोली पठाएर जानकारी लिएको छ। टोलीसँग संघर्ष समितिले अनौपचारिक छलफल गरेको थियो। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान संयुक्त संघर्ष समिति सदस्य पदम नेपालीका अनुसार सरकारी टोलीले आन्दोलनरत पक्षसँग वार्ता गरेको थियो। सो क्रममा आन्दोलनरत पक्षले पदाधिकारीको राजीनामाको माग गरेको थियो।
नेपालीले भने, ‘सरकारी टोलीले वार्ता गरेर गएको छ, सरकारी टोलीले बीपी प्रतिष्ठानको विषयमा निर्णय गर्ने अधिकार स्वास्थ्य मन्त्रालयलाई नभएकाले प्रधानमन्त्री स्तरमा कुरा राख्ने भन्दै निस्किएको हो। मन्त्रालयले हाम्रा कुरा सुन्ने प्रयास गरेको छ, यस कदमलाई हामीले सकारात्मक रुपमा लिएका छौं’।’
तर अहिलेसम्म प्रधानमन्त्रीस्तरबाट कुनै वार्ता टोली गठन नगरिएको उनले बताए। संघर्ष समितिले विभिन्न १२ बुुँदे माग राख्दै आन्दोलनमा उत्रिएका छन्। ‘अब पनि वार्ता टोली गठन नभए हाम्रो आन्दोलन चर्किन्छ। हामीले अहिलेसम्म बिरामीको सेवामा कुनै पनि अप्ठ्यारो गरेका छैनौं, अब पनि कुनै निकास नभए अस्पतालको सेवा नै प्रवावित हुनसक्छ,’ उनले भने।
आन्दोलनको वार्ताका लागि चिकित्सक र कर्मचारी टोलीलाई असार १५ गते उपकुलपति डा. ज्ञानेन्द्र गिरीसहित चार जना पदाधिकारीले बोलाएका थिए। तर उपकुलपति गिरी नै मदिरा सेवन गरेर वार्तास्थलमा पुगेपछि आन्दोलनरत पक्षले उनलाई कार्यकक्षमा नै थुनेका थिए।
त्यसपछि गिरीले उक्त दिन भएको घटनाका विषयमा प्रष्टीकरण दिएका थिए। डा. गिरीले विज्ञप्ति जारी गर्दै उक्त दिन भौतिक र मानसिक चिन्ताका कारण आफ्नो शारीरिक अवस्था कमजोर भएको प्रष्टीकरण दिएका थिए। तर प्रतिष्ठानका आन्दोलनरत स्वास्थ्यकर्मीले गिरीले मदिरा सेवन गरी अस्वाभाविक अवस्थामा पुगेपछि उनलाई कर्मचारीले कार्यकक्षमै थुनिदिएका थिए। त्यसपछि गिरीको राजीनामा माग भएको छ।
असार १६ मा चिकित्सक, प्राध्यापक विद्यार्थी र कर्मचारीले वार्ताका लागि सरकारलाई मंगलबारसम्मको अल्टिमेटम दिएको थियो। चार जना पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गर्दै संघर्ष समितिले पदाधिकारीको राजीनामा र प्रधानमन्त्रीको पहलमा उच्चस्तरीय वार्ता टोली गठनका लागि दिएको समय सकिएको छ। अल्टिमेटम सकिँदा पनि सरकारको तर्फबाट वार्ता टोली गठन नभएको संघर्ष समितिले जनाएको छ। अब पनि वार्ताका लागि कुनै प्रयास नभए अन्य कदम चालिने संघर्ष समितिले जनाएको छ।
उपकुलपति डा. ज्ञानेन्द्र गिरी, रजिष्ट्रार प्राडा. मोहनचन्द्र रेग्मी, रेक्टर प्राडा. गुरु खनाल र निर्देशक प्राडा. गौरीशंकर शाहको राजीनामा दिनुपर्ने संघर्ष समितिको माग छ।