काठमाडौं- नेकपा (एमाले) विवाद समाधानका लागि गठित कार्यदलको बैठक सिंहदरबारस्थित अर्थ मन्त्रालयमा सुरु भएको छ।
बिहानै बस्ने भनिएको बैठक नेताहरू आन्तरिक परामर्शमा भएपछि ढिला भएको हो।
कार्यदलको बैठक अघि नेता भीम रावलले वरिष्ठ नेता माधवकुमार नेपालसँत छलफल गरेका थिए।
मंगलबार सिंहदरबारमा भएको छलफलमा सहमतिका लागि विभिन्न विकल्प तय भए पनि ठोस निष्कर्ष निस्कन सकेको थिएन। आजको बैठकमा आन्तरिक समस्या समाधानका लागि गम्भीर छलफल हुने कार्यदल सदस्य रावलले बताए।
उनले मंगलबारको बैठकमा सहमतिका लागि अघि सारिएका विभिन्न विकल्पमाथि सकारात्मक छलफल भएको बताए। पार्टीभित्रको विवाद समाधानका लागि दुवै पक्षका ५-५ सदस्यहरू रहने गरी कार्यदल गठन भएको थियो।
कार्यदलमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् भने नेपाल पक्षबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन्।