काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७५ वर्ष पुगेको छ। आज उनले आफ्नो ७५औं जन्मदिन मनाउँदैछन्। तर, यो वर्ष उनले जन्मदिनलाई उत्सवको रुपमा नमनाउने जनाएका छन्।
राजनीतिले निराशा पैदा गरेको तथा कोरोना महामारी र प्राकृति विपदका कारण जनताले दुःख पाइरहेको भन्दै उनले जन्मदिनलाई उत्सवको रुपमा नमाउने यसअघि नै घोषणा गरिसकेका छन्।
‘राजनीति, राज्य प्रणाली एवं राजकाजको प्रबन्ध र व्यवस्थापन संक्रमण, संकट र अन्योलको अवस्थामा देखा परेको छ। परिवर्तन र अग्रगमनका चर्का नारा घन्काएर जति नै रूपान्तरण गरे पनि जनताले ठोस सुख सुविधा नपाइरहेको बुझिएको छ,’ शाहले विज्ञप्ति जारी गर्दै भनेका छन्।
जनतामा पैदा भएको निराशा तथा भोग्नु परेको पीडालाई ध्यानमा राख्दै असार २३ गतेको जन्मदिनलाई उत्सवका रूपमा नमनाउने निर्णय गरिएको उनको विज्ञप्तिमा उल्लेख छ।
ज्ञानेन्द्र शाह २००४ साल असार २३ गते जन्मिएका थिए। उनी राजा महेन्द्रका माहिला छोरा हुन्।