काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सरकारी स्वामित्वका सञ्चारमाध्यमप्रति आक्रोश व्यक्त गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति प्रकाशन भएपछि थापाले फेसबुकमा सरकारी मिडियामाथि आक्रोश पोखेका हुन्।
प्रचण्डले मंगलबार धनुषामा पुगेर प्रतिनिधि सभा पुनःस्थापना हुने बताएका थिए। सरकारी स्वामित्वको समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस)सहित गोरखापत्र अनलाइन र नेपाल टेलिभिजनले उक्त समाचार प्रकाशन गरेका थिए। थापाले प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्चमा विचाराधीन भएको अवस्थामा आफूअनुकुल हुने गरी प्रचण्डले अभिव्यक्ति दिएको र त्यसलाई समाचार प्रकाशन गरेको प्रति रोष व्यक्त गरेका हुन्।
'नेपाल टिभी र गोरखापत्र अनलाइन तथा राससको समाचार बुलेटिनको दुर्दशा! … तमासा भो!,' थापाले गोरखापत्र र नेपाल टेलिभिजनको समाचारको स्क्रिनसट राखेर फेसबुकमा लेखेका छन्, 'सरकारी सञ्चारमाध्यमहरूमा 'विपक्षी'को मिडिया ट्रायल हो कि के हो यो? सर्वोच्च अदालतमा 'हेर्दाहेर्दै'मा रहेको मुद्दामा अग्रिम फैसलाकै रिहर्सल गरिएको दृष्टान्त? सञ्चारमन्त्री र मन्त्रालयको ध्यानाकर्षण भएन कि?'