काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले १४ औं महाधिवेशनमा आफ्नो समूह नै प्रतिस्पर्धामा उत्रने बताएका छन्। मंगलबार बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा आफू निकट नेताहरुको भेला बोलाएर सिटौलाले महाधिवेशनको तयारी थाल्न निर्देशन दिएका हुन्।
उनले आफ्नो समूहमा कुनै दरार नभएको भन्दै महाधिवेशन जित्ने गरी तयारी थाल्न निर्देशन दिएको तरुण दलका उपाध्यक्ष उत्तमकुमार चापागाईँले बताए।
‘तल्ला तहका अधिवेशन सुरु हुने बेला भइसक्यो। तपाईंहरु तयारीमा लाग्नुस्। आफ्नो वडा, क्षेत्र र जिल्लामा कसरी आउने र हाम्रा साथीहरुलाई कसरी ल्याउने त्यतातर्फ सोच्नुस्,’ सिटौलाको भनाइ उदृत गर्दै चापागाईँले भने, ‘यो कांग्रेसको आन्तरिक प्रतिस्पर्धा हो। त्यसैले आफू पनि बन्ने र कांग्रेस बलियो बनाउनेतर्फ हाम्रो ध्यान केन्द्रीत हुनुपर्छ।’
उनले आफ्नो समूहको १३ औं महाधिवेशनमा भन्दा यो पटक शक्ति बढेको विश्लेषण गरेका छन्। अघिल्लो महाधिवेशनमा सभापतिमा पराजित भएका सिटौलाले १४ औं महाधिवेशमा पनि सभापति लड्ने तयारी गरेका छन्। त्यसकै तयारीस्वरुप मंगलबार भेला बोलाएका हुन्।
‘उहाँ सभापति लड्ने कुरामा कुनै शंका छैन। त्यसकै तयारीस्वरुप आजको भेला आयोजना गरिएको हो,’ चापागाईँले भने, ‘अब एक्लै लड्ने वा अरुसँग सहकार्य हुने भन्नेबारेमा विस्तारै थाहा हुनेछ। तर, उहाँ सभापति लड्नुहुन्छ, हाम्रो समूह लड्छ।’
कार्यक्रममा पूर्वमन्त्री उमाकान्त चौधरी, भीमसेनदास प्रधान, विभिन्न भातृसंस्थाका पदाधिकारी सहभागी थिए। नेता सिटौलाले आफ्ना समूहका नेता कार्यकर्तालाई महाधिवेशनमा जुट्न निर्देशन दिए। भेलामा गगन थापा र प्रदीप पौडेल भने उपस्थित थिएनन्। थापा पोखरामा भएका कारण र पौडेल क्रियाशील सदस्यता छानविनको काममा व्यस्त भएकाले उपस्थित नभएको चापागाईँले जानकारी दिए।