काठमाडौं– पार्टीभित्रको विवाद मिलाउन गठित नेकपा एमालेको कार्यदल बैठकमा सहभागी नेताहरुले छलफल सकारात्मक भएको बताएका छन्।
सिंहदरबारमा आज मंगलबार बसेको बैठकमा व्यवस्थित ढंगले छलफल भएको नेता गोकर्ण विष्टले जानकारी दिए। उनका अनुसार बैठक भोलि पनि बस्ने तय भएको छ।
अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले संयुक्त वक्तव्य जारी गर्ने तयारी भएको हो? भन्ने सञ्चारकर्मीको जिज्ञासामा नेता रघुजी पन्तले बैठकमा त्यस विषयमा कुनै छलफल नभएको बताए।
हिजो सोमबारको बैठकपछि पनि नेताहरुले सौहार्दपूर्वक छलफल भएको र विवाद समाधान हुनेमा आशावादी हुन सकिने प्रतिक्रिया दिएका थिए।
शुक्रबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने रिटमा गरिएको हस्ताक्षर फिर्ता लिन सोमबार साँझसम्मको ‘अल्टिमेटम’ दिएको थियो। तर, असन्तुष्ट समूहले हस्ताक्षर फिर्ता लिएन। अल्टिमेटम सकिएलगत्तै कार्यदल ब्युँताएर पार्टी विवाद हल गर्न छलफल सुरु भएको हो।
गएको जेठ २ गते बनाइएको कार्यदलमा अध्यक्ष तथा प्रधानमन्त्री ओलीका तर्फबाट नेता सुवासचन्द्र नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् भने खनाल–नेपाल समूहबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन्।