काठमाडौं- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला समूहले महाधिवेशन केन्द्रित रणनीति बनाउन आफू निकट नेताहरुको भेला आयोजना गरेको छ। काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा सिटौला समूहले भेला आयोजना गरेको हो।
तर, भेलामा सिटौला समूहका प्रभावशाली नेता गगन थापा र प्रदीप पौडेल भने गएनन्। भेलामा सिटौलासहित नेताहरू उमाकान्त चौधरी, शिव हुमागाई, भीमसेन दास प्रधानलगायत उपस्थित छन्। त्यस्तै भेलामा सिटाैलानिकट अन्य नेता, भ्रातृ संस्थाका पदाधिकारीहरू पनि छन्।
थापा पोखरामा रहेका कारण भेलामा उपस्थित नभएको बताइएको छ। उनी कांग्रेसका पूर्वआमन्त्रित केन्द्रीय सदस्य रामजी कुँवरको निधनपछि परिवारसँग भेटघाट गर्न पोखरा गएका हुन्।
यता पौडेल भने क्रियाशील सदस्यता छानबिनको काममा व्यस्त भएका कारण भेलामा उपस्थित नभएको बताइएको छ। यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको भेलामा यी दुवै युवा नेता सहभागी भएका थिए।
सिटौला समूहको भेलामा तल्ला तहका अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भएको एक नेताले जानकारी दिए।
‘तल्ला तहका अधिवेशन सुरु हुँदैछन्। त्यहाँ कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल भएको छ।’, ती नेताले भने। १३ औं महाधिवेशनमा सभापतिमा लडेका सिटौला आगामी महाधिवेशनमा आफ्नो दाबीका बारेमा भने मौन छन्।