काठमाडौं– निषेध आदेशको समयमा चोरी भएका ३३ वटा मोटरसाइकल मंगलबार प्रहरी सवारी धनीलाई बुझाएको छ।
उपत्यकामा हुने सवारीसाधन चोरी घटनालाई न्यूनीकरण एवं नियन्त्रण गर्न खटिएको विशेष अप्रेसन टोलीले निषेध आदेशको समयमा २३ मोटरसाइकल र १० स्कुटर बरामद गरेको जनाएको छ। ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले बरामद मोटरसाइकल सवारी धनीलाई हस्तान्तरण गरेका हुन्।
पछिल्लो समय चोरी भएर पक्राउ गरेका अधिकांश मोटरसाइकल बजाज कम्पनीका पल्सर र हिरो होण्डाका छन्। विशेषगरी चोरी गर्ने समूहले सस्तो मूल्यका, आकर्षक र बढी डिमाण्ड हुने खालका मोटरसाइकल र स्कुटर चोरी गर्ने गरेको देखिएको प्रहरीले जनाएको छ।
युवा पुस्ताको रोजाइ र ग्रामीण भेगमा समेत माग बढी भएकोले पल्सर मोटरसाइकल बढी चोरी हुने गरेको महाशाखाको बुझाइ छ। विशेषगरी त्यस्ता चोरी गर्ने समूहले ग्रामीण इलाकामा लगी नम्बर प्लेट र स्वरुप परिवर्तन गर्ने, नक्कली कागजपत्र बनाई वेचबिखन गर्ने र कतिपय अवस्थामा वास्तविक नम्बर नै प्रयोग गरेको भेटिएको एसएसपी भट्टराईले बताए।
हराएका मध्ये करिब ७० प्रतिशत पल्सर मोटरसाइकल हुने गरेको ट्राफिक महाशाखाको तथ्याङ्कले देखाएको छ। चालू आर्थिक वर्षमा मात्रै हराएका ४१३ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाइएको र चोरीमा संलग्न ५१ जनालाई पक्राउ गरी कारबाहीको लागि प्रहरी वृत्तहरुमा पठाएको महाशाखाले जनाएको छ।