काठमाडौं- पार्टीको विवादका विषयमा छलफल गर्न जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव निर्वाचन आयोग पुगेका छन्।
अहिले आयोगमा महन्थ पक्षका महन्थसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, सरदसिंह भण्डारी पुगेका छन् भने उपेन्द्र पक्षबाट उपेन्द्रसहित महेन्द्रराय यादव गएका छन्। बाबुराम भट्टराईलगायत अन्य नेता पनि आयोग पुग्नेक्रममा छन्।
निर्वाचन आयोगले छलफलका लागि जसपाका दुवै पक्षलाई आज बोलाएको थियो। जसपाको उपेन्द्र यादव पक्षले राजनीतिक दल सम्बन्धी ऐन ४३ र ४४ बमोजिम पार्टीको आधिकारिकतामा दाबी गर्दै आयोगमा निवेदन दिएको थियो ।
यादव पक्षको निवेदनपछि आयोगले महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र जवाफ दिन भनेको थियो । महन्थ पक्षले जवाफ दिएपछि आयोगले दुवै पक्षलाई मेलमिलापका लागि बोलाएको हो।