गोकर्णेश्वर (काठमाडौं)- कोभिड-१९ का कारण भएको बन्दाबन्दीमा धेरैले घरभित्रै थुनिनु पर्यो। तर अघिपछि पनि घरभित्रै बस्दै आएका बिरामीका लागि बन्दाबन्दीले खासै असर नपार्ला भन्ने लाग्न सक्छ। तर धेरै बिरामीलाई यसले नराम्रोसँग असर पार्यो । यस्तै बिरामी हुन् दुवै मिर्गौला फेल भएका ३३ वर्षीय वीरबहादुर हेम्जन। बन्दाबन्दीले उनलाई 'सिकिस्त' बनायो।
८ वर्षदेखि गोकर्ण नगरपालिकाको एउटा घरको सानो कोठामा सीमित छन् हेम्जन। नेपाल मेडिकल कलेजमा सातामा तीनपटक निःशुल्क डाइलाइसिस गर्दै आएका हेम्जन उपचारकै लागि बाराको खुला मैदानबाट काठमाडौंको साँघुरो घेरामा सीमित भएका हुन्। वर्ष दिनको छोरो र श्रीमती डोल्मामाया थिङसहित २०७१ मा काठमाडौं आएका उनी उपचार गरी सन्चो हुने विश्वासमा आएका थिए। तर लामो समयसम्म पनि हेम्जन तङ्ग्रन सकेका छैनन्। बरु झनै थलिए। ‘औषधि खान मुस्किल भाथ्यो। अब त 'लकडाउन'ले भात खान पनि मुस्किल बनायो,’ उनले गुनासो गरे।
पछिल्लो केही महिनादेखि उनले कोठा भाडा तिर्न सकेका छैनन्। धन्न घरबेटीले उनको अवस्था देखेर केही नबोलेको बताउँछन्।
हेम्जनका दाजुभाइ बारामै छन्। मजदुरी गर्छन्। तैपनि उनीहरूले जतिसक्दो सहयोग गर्दै आइरहेका थिए। डेढ वर्षयताको बन्दाबन्दीका कारण सहयोगी आफन्तहरूको पनि आम्दानी कमजोर भयो। बन्दाबन्दीले दैनिक ज्यालादारी काम पनि खोसिएको थियो।
घरपरिवार र आफन्तले पनि अब आश मारेको बताउँछन् हेम्जन। उनले भने, ‘लकडाउनपछि त घरमा भएकाहरु पनि बेरोजगार भए। त्यसपछि के माग्नु!’
हेम्जन २२ वर्षको उमेरमा कतार गएका थिए। त्यहाँ तीन वर्ष बिताए। काम गर्न नसकेपछि उनी नेपाल आए। कमाएर ल्याएको पैसा आफ्नो रोग पत्ता लगाउनमै सकियो। भन्छन्, ‘उपचार गरेर न त सन्चो भएँ, न मर्न सकेँ।’
कोरोना संक्रमण न्यूनीकरणका लागि भएको बन्दाबन्दीका बेला डाइलसिस गर्न उनलाई निकै सास्ती थियो। 'नियमित रूपमा प्रेसरको औषधि खानुपर्छ, लामो अवधिसम्म डायलाइसिस गर्नुभन्दा किड्नी प्रत्यारोपण गर्न मन थियो। तर पैसा कहाँ पाउनु? न अरू प्रक्रिया सजिलो छ,’ उनले दुखेसो पोखे।
किड्नीका बिरामी हेम्जनलाई निषेध आदेशकै बीचमा अर्को विपत्ति थपियो। जेठ १५ गते उनलाई कोरोना संक्रमण भएको पुष्टि भयो। नेपाल मेडिकल कलेजमा गराएको पिसिआर परीक्षण रिपोर्टमा कोरोना पोजिटिभ देखिए पनि खासै डराएनन् उनी। भन्छन्, ‘यो रोगीलाई अर्को रोग थपियो, त्यति न हो।’
हेम्जन २२ वर्षको उमेरमा कतार गएका थिए। त्यहाँ तीन वर्ष बिताए। काम गर्न नसकेपछि उनी नेपाल आए। कमाएर ल्याएको पैसा आफ्नो रोग पत्ता लगाउनमै सकियो। भन्छन्, ‘उपचार गरेर न त सन्चो भएँ, न मर्न सकेँ।’
नेपाल मेडिकल कलेजमा उनले ९ दिन कोरोनाको उपचार गरे। कोरोनाको रिपोर्ट नेगेटिभ आएपनि अक्सिजनको मात्रा कम नै देखियो। डाक्टरको सल्लाह बमोजिम उनले घरमै अक्सिजन सिलिन्डर ल्याउन पर्यो। तर पैसा थिएन। अनि घरपरिवार र आफन्तमा गुहारे। सहयोगका लागि छरछिमेकीलाई भने। भनसुन र सहयोगपछि जसोतसो सिलिन्डर पाए। एक हप्तासम्म उनले चौबिसै घण्टा अक्सिजन सिलिन्डरको पाइप नाकमा जोडे। अहिले पनि बेलाबेला जोडिराख्नुपर्छ।
आफूसँग कमाउने मान्छे नभएपछि उनले गत शनिबार आफ्नै फेसबुकबाट सहयोगका लागि अपिल गरेका थिए। अभियन्ता राजेश भट्टराईले उनलाई एक बोरा चामल, दाल, नुनलगायतका खाद्यान्न उपलब्ध गराए।
पछिल्लो केही महिनादेखि उनले कोठा भाडा तिर्न सकेका छैनन्। धन्न घरबेटीले उनको अवस्था देखेर केही नबोलेको बताउँछन्। साँघुरो कोठामा छोरासँगै बस्दै आएका हेम्जनले महिनामा १६ देखि २० हजारको औषधि खाँदै आएका छन्। केही समयअघिसम्म श्रीमती पनि त्यही कोठामै थिइन्।
हुन त नेपालमा ३० लाख नेपाली किड्नीको बिरामी छन्। बन्दाबन्दीमा उनीहरूले निकै सास्ती व्यहोरे। अस्पतालमा उपचार पाउन गाह्रो भएको समाचार नआएको पनि होइन। तर हेम्जनको अस्पतालको दुःख भन्दा कमजोर आर्थिक अवस्थाका कारण दयनीय थियो। दैनिक खानुपर्ने औषधि लकडाउनका कारण छुटेको थियो।
श्रीमतीको कमाइले रासन र औषधि किनी खान ठूलो सहयोग पुगेको थियो। हेम्जनलाई छोरो विनय हेम्जनको भविष्यका विषयमा साह्रै पिर लाग्छ। हुर्कँदै गरेको छोरोलाई पढाउन नसकेकोमा उनी दुखी छन्। हुन त उनकी पत्नी डोल्मामायाले जसोतसो पढाएकी थिइन्। अब त्यो पढाइ पनि छुट्ने डर छ उनलाई।
मनभरि छोरोको पिर बोकेर उनले भने, ‘किड्नीले धोका दिएकै छ। श्रीमतीले पनि धोका दिएर गई।’ गत साता उनकी श्रीमतीले १४ वर्षको सम्बन्धलाई तोडेर अर्कैसँग बिहे गरिन्। त्यसले पनि मन मारेर उनले भने, ‘म रोगीलाई कहिलेसम्म स्याहारोस्, पोइला गई, राम्रै भो।’