सोमबार, असार २९, २०८३

नक्कली एनएस चिह्न राख्ने उद्योगमा शिल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौँ-  नेपाल गुणस्तर तथा नापतौल विभागले विभागबाट गुणस्तर चिह्न (एनएस) नलिई नक्कली एनएस चिह्न लगाएर सञ्चालन गरेका उद्योग बन्द गराएको छ । 

विभागले ओडीएटी फुड एण्ड वेभरेज प्रालिले विभागबाट अनुमति नलिई प्रान पोट्याटो क्य्राकरमा एनएस चिह्न लगाएर बिक्री वितरण गरेपछि बुधबार उद्योगमा शिल लगाएको हो । 

कम्पनीले काठमाडौँको मूलपानीमा उत्पादन भएको २५ ग्राम प्याकिङ साइजलाई विभागबाट अनुमति नलिई एनएस चिह्न राखेको अनुगमनमा भेटिएपछि कम्पनीलाई शिलबन्दी गरी कारबाही गरिएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए । 

“कम्पनीले स्वीकृति नलिई वर्षौंदेखि आफ्नो उत्पादनमा एनएस लोगो छापेर सामान बिक्री गर्दै आएको फेला परेको छ,”– महानिर्देशक पुडासैनीले भने । 

गुणस्तरबाट एनएस चिह्न लिन उद्योगीले नियमानुसार उत्पादन गर्नुपर्ने हुन्छ । उनीहरुको गुणस्तरबारेमा विभागले परीक्षण गरेपछि मात्रै सरकारले एनएस चिह्न उपलब्ध गराउने गरेको छ । 

विभागले अनुगमनमा भेटिएको १३१ कार्टुन प्रान पोट्याटो क्य्राकरमा शिलबन्दी गर्नुका साथै सम्पूर्ण व्यवसायीलाई उक्त प्रान पोट्याटो क्य्राकर नबेच्नसमेत निर्देशन दिएको छ । रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्