विराटनगर– नेपाली कांग्रेसको १४ औं महाधिवेशन निश्चित भएपछि मोरङ सभापतिका आकांक्षी बढेका छन्।
सभापतिका लागि ६ जना दौडमा छन्। नेताहरु जिल्लाको नेतृत्व हत्याउनका लागि काठमाडौं–विराटनगर गर्ने क्रम बढेको छ।
भदौ १७ गते देखि महाधिवेशन हुने भएपछि अहिले वडा–वडामा कांग्रेसका नेताहरुको चहलपहल बढेको छ। वडा तहदेखि नै उम्मेदवारी घोषणा गर्ने क्रम बढेर गएको छ।
आकांक्षी को–को ?
१४ औं जिल्ला अधिवेशनमा सभापतिका लागि ६ जनाले अहिलेसम्म दाबी प्रस्तुत गरेका छन्। सभापतिमा पुन: दोहोर्याउने दाउमा वर्तमान सभापति डिकबहादुर लिम्वुसहित ६ जना नेताहरु अहिले दौडमा छन्।
यसअघि पार्टी सभापति शेरबहादुर देउवा प्यानलबाट चुनाव जितेका लिम्बू यस पटक भने देउवा इतर पक्षमा लागेका छन्।
सभापतिको दौडमा देउवा इतर पक्षबाटै गोपालराज भण्डारी, १ नम्बर प्रदेशसभामा नेपाली कांग्रेसका प्रमुख सचेतक रहेका केदार कार्की, वर्तमान मोरङ सचिव नागेश कोइराला, निरन्जनप्रसाद रिजाल सभापतिको रुपमा चर्चामा छन्।
पार्टी सभापति शेरबहादुर देउवा समूहबाट दिलिप गच्छदार र रमेशजंग रायमाझी सभापतिको दौडमा छन्।
देउवा इतर पक्षबाट सभापतिका लागि ४ जना प्रतिस्पर्धामा रहे पनि अधिवेशनको मिति सम्ममा एक जनाको मात्र उम्मेदवारी पर्ने मोरङ सचिव समेत रहेका नागेश कोइराला दाबी गर्छन्।
वर्तमान सभापति लिम्बूले पनि सबैको सहमतिमा नेतृत्व चयनको प्रयास गरिने र छलफलबाटै उम्मेदवारको पनि टुंगो लाग्ने बताए। सभापतिको दौडमा रहेका दिलिप गच्छदारलाई पार्टी सभापति देउवाको मात्रै नभएर यसअघि राप्रपाबाट कांग्रेस प्रवेश गरेका सुनिल थापा र फोरम लोकतान्त्रिकबाट कांग्रेसमा मिसिएका विजयकुमार गच्छदारको पनि समर्थन रहेको बुझिएको छ।
केन्द्रमा शेखर कोइराला, शशांक कोइराला, मीनेन्द्र रिजाल, महेश आचार्य, गुरु घिमिरेलगायतका नेताहरु एकीकृत ढंगले जाने परिस्थिति बनेको खण्डमा मात्रै जिल्लामा पनि जित्न सकिने देउवा इतर समूहको विश्लेषण छ।
थपिए १४ हजार क्रियाशील सदस्य
मोरङमा क्रियाशील सदस्यको संख्या ३० हजार पुगेको छ। १४ हजार २५५ नयाँ क्रियाशील सदस्य थपिएपछि सदस्य संख्या बढेको हो।
यसअघि मोरङमा १६ हजार २५५ क्रियाशील सदस्य थिए। त्रियाशील सदस्यहरुबाट झण्डै ३ हजार क्षेत्रीय प्रतिनिधिहरुको मतदान प्रक्रियाबाट सभापतिसहित जिल्ला समितिको चयन हुनेछ।