एजेन्सी : विश्वकप फुटबलको समुह चरणको दोस्रो खेलमा स्पेनले संघर्षपूर्ण जित हात पारेको छ । बुधबार राती भएको खेलमा इरानलाई १-० गोलअन्तरले पराजित गर्दै स्पेन विजयी भएको हो ।
स्पेनको जितमा डिएगो कोष्टा नायक बने । उनकै गोलले स्पेनले इरानमाथि कठिन जित हात पारेको हो । कोष्टाले खेलको ५४औं मिनेटमा गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । पोर्चुगलले मोरक्कोलाई हराएछि स्पेनलाई अघिल्लो चरण प्रवेशका लागि जित्नै पर्ने दबाब थियो ।
एकपछि अर्को गोल गर्ने अवसर पाएपनि स्पेन गोल गर्न सकेन । खेलअवधिभर बल नियन्त्रणमा राखेको स्पेनले एकपछि अर्को गोल गर्ने अवसर गुमाएको थियो । खेलको अन्तिम समयतिर इरानले पनि निकै आक्रमक खेल खेलेको थियो । तर गोल गर्न भने सकेन ।
जितसँगै स्पेनले महत्वपूर्ण ३ अंक जोडेको छ । पहिलो खेल पोर्चुगलसंग बराबरी खेल्दै १ अंक बटुलेको स्पेनको अब ४ अंक भएको छ । इरानले भने २ खेलमध्ये १ खेलमा जित र १ खेलमा हारसहित ३ अंक जोडेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४