पोखरा- नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य रामजी कुँवरको कोरोनाका कारण आज निधन भएको छ।
कुँवरको काठमाडौंको शिक्षण अस्पतालमा उपचारका क्रममा सोमबार साँझ निधन भएको नेपाली कांग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देलले नेपालसमयलाई जानकारी दिए।
उनी विगत एक महिनादेखि कोरोनासँग जुधिरहेका थिए। कोरोना संक्रमण देखिएपछि पोखरामा उपचार गराइरहेका कुँवरलाई यहाँ सम्भव नभएपछि काठमाडौं लगिएको थियो। सोमबार साँझ ५ बजे उनको अस्पतालमा निधन भएको हो।
उनी गत २०७४ को निर्वाचनमा पोखरा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनमा महानगरपालिकाको मेयरको प्रत्यासी जिए। उनी नेकपा एमालेका मानबहादुर जिसीसँग पराजित भएका थिए।
पोखराको लेकसाईडका स्थायी बासिन्दा कुँवरको ६८ वर्षको उमेरमा निधन भएको हो। उनको निधनले नेपाली प्रजातान्त्रिक आन्दोलनमा क्षति पुगेको नेपाली कांग्रेसले टिप्पणी गरेको छ।