काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल टुकी देशबाट टुकीरहित देशमा परिणत हुँदै गएको बताएका छन्।
सोमबार माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको उद्घाटन गदै उनले सो आयोजनाले नेपाललाई टुकी देशबाट टुकीमुक्त देश बनाउने विश्वास व्यक्त गरे। उनले अब नेपालले लोडसेडिङ मुक्त हुनका लागि बिजुली आयात गर्न नपर्ने दाबी गर्दै केही दिनमा नै माथिल्लो तामाकोशी जलविद्युत आयोजना पूर्ण क्षमतामा चल्ने र यसले नेपालको समग्र विकासमा ठूलो योगदान दिने बताए।
उनले भने, ‘माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले हामीलाई ठूलो पाठ सिकाएको छ। यो आयोजनाले समयमा नै आयोजनाहरु सम्पन्न नगर्दा दोब्वर लागत लाग्ने भएकोले आगामी दिनहरुमा आयोजनाहरु तोकिएको मितिमा नै सम्पन्न गर्नुपर्ने प्रमाणित गरिदिएको छ।’
उनले आयोजना समयमा नै नसक्दा देशले थपिएको चार वर्षमा प्रत्यक्ष र परोक्ष रुपमा ठूलो क्षति व्यहोर्नु परेको दाबी गर्दै भने, ‘हामीले प्रत्यक्ष रुपमा लागत अनुमानमा १८ अर्ब रुपैयाँ ब्याज र ३२ अर्ब रुपैयाँ साँवा नै थप्नु पर्यो। अप्रत्यक्ष रुपमा देशले कतिधेरै घाटा व्यहोरेको छ। यदि चार वर्षअगाडी नै आयोजना आएको भए त्यहाँबाट उत्पादन भएको विद्युतले उद्योग व्यवसाय कलकारखाना चल्थे, लाखौं रोजगारी हुन्थे भने देश सम्वृद्धितर्फको बाटोमा जाने थियो।’
त्यस्तै सो कार्यक्रममा उपप्रधान तथा उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विष्णुप्रसाद पौडेल अपर तामाकोशी जलविद्युत आयोजना जलविद्युत विकासको इतिहासमा कोसेढुंगा सावित भएको दाबी गरे।
उनले नेपाली पुँजीमा ४५६ मेगावाटको सो जलविद्युत आयोजनाको निर्माणले लोडसेडिङ सदाको लागि अन्त्य हुने र कहिल्यै पुनरावृत्ति नहुने दाबी गरे।
त्यस्तै मन्त्री पौडेलले यो आयोजनाले उत्पादनको लागि ठूलो योगदान दिने बताउँदै देशको कुल गार्हस्थ उत्पादनमा १ प्रतिशतको योगदान दिने दाबी गरे।