काठमाडौं- राजधानीबाट प्रकाशित बिहीबारका सबैजसो राष्ट्रिय दैनिक अखबारहरुले प्रधानमन्त्री केपी ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच महत्वपूर्ण भेटवार्ता भएको विषयलाई मुख्य समाचार बनाएका छन् ।
चिनियाँ राष्ट्रपतिसंग बुधबार भएको द्विपक्षीय वार्तामा महत्वपूर्ण विषयमा सहमती भएको छ । चिनियाँ रेल नेपाल ल्याउने विषय ठोस रुपमा अघि बढाउनेदेखि ठूला जलविद्युत आयोजनाहरु निर्माण गर्नेसम्म विभिन्न ९ विषयमा सम्झौता भएको छ ।
यसैविषयलाई आजको कान्तिपुर दैनिकले 'ओली–सी समझदारीका सूत्र : चिनियाँ रेल अब सपनाको विषय मात्र रहेन' शीर्षकमा मुख्य समाचार लेखेको छ भने गरिक दैनिकले 'चिनियाँ रेलले काठमाडौं जोड्ने राष्ट्रपति सीको प्रतिवद्धता' शीर्षकमा खबर छापेको छ ।
'चिनियाँ रेल नेपाल पुग्छ : राष्ट्रपति सी' शीर्षकमा अन्नपूर्ण पोस्ट्ले खबर लेखेको छ । नयाँ पत्रिका, राजधानीलगायतका दैनिक अखबारले पनि यो विषयलाई मुख्य समाचार बनाएका छन् ।
यस्तै कान्तिपुरले कांग्रेस जिल्ला सभापतिको भेलामा महाधिवेशन प्रक्रिया सुरु गर्न माग गरिएको विषयलाई पनि महत्वका साथ छापेको छ । नागरिक दैनिकले दाताहरुको चलखेलमा पाठ्यक्रम बदल्न लागेको विषयलाई पनि प्राथमिकतामा पारेको छ ।
कर्मचारीलाई व्यवसाय गर्न छुट दिने गरि नयाँ कानुन तर्जुमाको गृहकार्य भएको विषयलाई अन्नपूर्णले विशेष स्थान दिएको छ ।
नयाँ पत्रिकाले प्राकृतिक विपत्ले वर्षेनी ५ सयको ज्यान जाने गरेको विषयलाई उठान गरेको छ भने नेपालमा प्रतिमहिना झन्डै १ लाख पर्यटक नेपाल आउने गरेको विषयलाई कारोबार दैनिकले विशेष स्थान दिएको छ ।
चिनियाँ रेलले काठमाडौं जोड्ने राष्ट्रपति सीको प्रतिबद्धता
चिनियाँ राष्ट्रपति सी जिन पिङले चिनियाँ रेलले काठमाडौंलाई जोड्ने प्रतिबद्धता पुनः दोहोर्याएका छन्।
चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बुधबार बेइजिङमा भएको भेटवार्ता सीले केरुङ हुँदै काठमाडौं–पोखरा–लुम्बिनीसम्म रेलसेवा निर्माणका लागि चीनले सहयोग गर्ने प्रतिबद्धता दोहोर्याएका हुन् ।
‘भेटमा नेपाल–चीन सम्बन्धका धेरै मुद्दामा दुई नेताबीच कुराकानी भयो । दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भयो,’ भेटवार्तामा सहभागी नेपाली प्रतिनिधिमण्डलका एक सदस्यले टेलिफोनमा भने, ‘चिनियाँ राष्ट्रपति सीले चिनियाँ रेललाई नेपालका विभिन्न भागमा पुर्याउन सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ।’
भेटवार्तामा सहभागी ती सदस्यका अनुसार चिनियाँ राष्ट्रपति सीले अन्तरदेशीय रेलवे कनेक्टिभिटीलाई रुचिका साथ लिएका थिए । बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा भएको ३० मिनेट भेटवार्तामा चिनियाँ राष्ट्रपति सीले रेलवे निर्माणको ठोस प्रस्ताव तयार पार्न पनि प्रधानमन्त्री ओलीलाई आग्रह गरे ।
नागरिक दैनिकमा प्रकाशित खबर अनुसार राष्ट्रपति सीले कनेक्टिभिटी आफ्नो महत्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बिआरआई) अन्तर्गत पर्ने जनाउँदै यही परियोजनामार्फत नेपालमा चिनियाँ रेल पुर्याउन सकिने बताएका थिए ।
कर्मचारीलाई व्यवसाय गर्न छुट
चुस्तदुरुस्त एवं प्रतिबद्ध हुन नसकेको भन्दै प्रशासन वृत्तबारे विभिन्न टीकाटिप्पणी भइरहेकै बेला सरकारले तिनै कर्मचारीलाई व्यापार व्यवसाय र गैरसरकारी संस्था (एनजीओ)मा सहभागी हुन पाउने गरी नयाँ कानुन तर्जुमाको गृहकार्य गरेको छ।
अन्नपूर्ण पोस्ट्मा प्रकाशित खबरअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको संघीय निजामती सेवा ऐनको विधेयक मस्यौदामा कर्मचारीलाई हाकाहाकी व्यापार व्यवसाय गर्न छुट दिने प्रावधान राखिएको छ।
यसैगरी सो विधेयकमा कर्मचारीलाई खुले आम कुनै पनि एनजीओमा आबद्ध भई काम गर्नसमेत छुृट दिइने व्यवस्था छ। प्रस्तावित संघीय निजामती सेवा ऐनको दफा ७३ को उपदफा ३ मा सरकारको स्वीकृति लिएर कर्मचारीलाई व्यापार व्यवसाय गर्न दिइने प्रावधान छ।
सोही उपदफामै कर्मचारीलाई पेसागत वा अन्य कुनै एनजीओमा आबद्ध हुन छुट दिइने प्रावधानसमेत समेटिएको छ। सरोकारावालाले भने सो विधेयक जस्ताको त्यस्तै पारित भए कर्मचारी झनै बढी छाडा र अराजक हुन सक्ने भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्।
मन्त्रालयले तयार पारेको उक्त विधेयकको मस्यौदालाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले स्वीकृतसमेत गरिसकेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४