काठमाडौं- महानगरी अपराध महाशाखाले युरोकप र कोपा अमेरिका फुटबल प्रतियोगितामा ठूलो रकमको सट्टेबाजी गराउने गिरोहका सदस्यहरुलाई पक्राउ गरेको छ।
युरोकप र कोपा अमेरिका फुटबलमा अनलाइनमार्फत् बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई काठमाडौंका विभिन्न स्थानमा सट्टेबाजी गराइरहेको गोप्य सूचनाको आधारमा महाशाखाबाट गएको प्रहरीको विशेष टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
टोलीले काठमाडौंको इन्द्र चोक, मरुटोल, न्यूरोड, क्षेत्रपाटी, गैरीघाटलगायतका स्थानबाट अनलाइन बाजी गरी नगदी कारोबारसमेत गरिरहेको अवस्थामा ८ जनालाई नगद र सट्टेबाजीमा प्रयोग भएको मोबाइलसहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को उपदफा ४ बमोजिम कसुरमा सजाय हुने गरी आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परीसर काठमाडौं पठाइएको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा काठमाडौं सुकेधाराका ५७ वर्षका राजेन्द्र श्रेष्ठ प्रधान तथा काठमाडौंकै ढोकाटोल बस्ने ४७ वर्षका जीवन लामा छन्।
त्यस्तै पर्साको वीरगंज–७ का ४६ वर्षीय सुरज टिवडेवाल, भारतको बिहारका ४६ वर्षीय अशोक कुमार गुप्ता, चितवनको खैरहनी –५ का ४५ को गोविन्द प्रसाद आचार्य, भारत हरियाना विवरनीका ४९ को राजेश कुमार अग्रवाल, भारत राजस्थान झुनझुन जिल्लाका ३३ वर्षीय सुचित डालमिया अग्रवाल र मोरङ विराटनगर–७ का ४६ वर्षीय अमरनाथ गुप्ता छन्।