काठमाडौं- निर्वाचन आयोगले आगामी कार्तिक र मंसिरका लागि घाेषित प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ८ गते प्रतिनिधिसभा विघटन गरेर कार्तिक २६ र मंसिर ३ गतेका लागि मध्यावधि निर्वाचनको मिति घोषणा गरेकी थिइन्।
सोही बमोजिम निर्वाचन आयोगले सोमबार निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो। प्रतिनिधिसभा विघटन र संसद पुनर्स्थापनाको मुद्दामा सर्वोच्च अदालतमा अन्तिम सुनुवाई भइरहेका बेला आयोगले कार्यतालिका बनाएर सार्वजनिक गरेको हो।
आयोगका अनुसार असार ३१ गतेदेखि साउन १५ गतेसम्म दल दर्ताको समय तय गरिएको छ।
आयोगले तयार गरेको कार्यतालिका अनुसार पहिलो चरणको चुनावका लागि असोज २० र २१ गते उम्मेदवार दर्ता गर्ने कार्यक्रम छ भने दोस्रो चरणको निर्वाचनको उम्मेदवारी दर्ता असोज ३१ र कात्तिक १ का लागि तय भएको छ।