धनगढी– बाजुराको हिमाली गाउँपालिका–५ क्युडिकामा बस्ती भासिँदा ९९ परिवार विस्थापित भएका छन्। बस्तीमुनि खनिएको सडकका कारण कमजोर बनेको जमिन पानी पर्न थालेपछि भासिएको हो।
जमिन भाँसिदा ९९ परिवाले गाउँ छाडेको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले जानकारी दिए। ‘पहिरो गएको गाउँ उसै पनि कमजोर भू–बनोट थियो’, उनले भने, ‘त्यसैमा यस वर्ष गाउँमुनिबाट सडक खन्न डोजर लगाइयो, जसका कारण हामीले ठोलो क्षति व्यहोरेका छौं।’ उनका अनुसार बस्तीका करिब ६ सय जना नजिककाे जंगलमा गएर बसेका छन्।
सडक खन्दा गाउँपालिकासँग समन्वय नभएको अध्यक्ष शाहीले बताए। ‘प्रदेश सरकारले सो क्षेत्रमा सडक निर्माण गर्न एक करोड छुट्याएको रहेछ’, अधयक्ष शाहीले भने, ‘त्यो बजेट कसरी कार्यान्वयन भयो, कसले ठेक्का पायो हामीलाई जानकारी भएन। हामीलाई सोधेको भए सो स्थानमा बाटो नै बनाउन दिने थिएनौं।’ पहिरोपीडित करिब डेढ किलोमिटर टाढाको जंगल क्षत्रमा गएर बसिरहेका छन्।
‘त्रिपालमा सुत्ने राम्रो प्रबन्ध छैन’, उनले भने, ‘खाद्यान्नको अभाव भएको छ। यसले रोगको महामारी फैलिन सक्ने खतरा बढेको छ।’
हिमाली गाउँपालिका–४ का वडा अध्यक्ष रमेश विकका अनुसार अहिले सो क्षेत्रमा खाद्यान्नको अभाव भएको छ। त्रिपालको सहारामा कसेका स्थानीयको बसाइसमेत असुरक्षित रहेको वडा अध्यक्ष विकले बताए। ‘त्रिपालमा सुत्ने राम्रो प्रबन्ध छैन’, उनले भने, ‘खाद्यान्नको अभाव भएको छ। यसले रोगको महामारी फैलिन सक्ने खतरा बढेको छ।’
जंगलमा बस्नुपर्दा महिला र बालबालिकालाई बढी समस्या भएको उनले बताए। उनका अनुसार पहिरोका कारण करिब ६ सय जनापीडित भएका छन्। सडकका कारण गाउँ भाँसिदा अहिलेसम्म १ घर पूर्ण रुपमा क्षति भएको छ भने अधिकांश घर चर्किएका छन्। ठूलो वर्षा भए जुनसुकै बेला पनि सवै घर बग्न सक्ने उनले बताए।
बाजुराका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले पीडित परिवारलाई तत्कालीन राहतको व्यवस्था गर्न खाद्यान्न पठाइएको जानकारी दिए। ‘गाउँपालिकाको समन्वयमा हामीले तत्काल ३० क्विन्टल खाद्यान्न र केही त्रिपाल पठाएका छौं’, अधिकारीले भने, 'यसबाहेक जस्ताको माग समेत गाउँपालिकाबाट भएको छ। हामीले गृह मन्त्रालयमा जानकारी गराएका छौं।’
प्रदेश सांसदको मनोमानी योजना वितरणको दुष्परिणाम
उसै पनि कमर धरातल रहेको वडा नम्बर–५ मा पहिरो जानुको कारण सडक निर्माण देखिएको छ। यसमा हिमाली गाउँपालिकाका अध्यक्षसमेत सहमत छन्। उनका अनुसार कमेरो माटोले बनेको धरातलमा सडक निर्माण गरिएको छ। तर सो सडक निर्माण गर्दा गाउँपालिका र वडा कार्यालयलाई समेत जानकारी गराइएको छैन।
‘सुदूरपश्चिम प्रदेश पूर्वाधार विकास कार्यक्रमअन्तरगत योजना आएको सुनिएको छ’, गाउँपालिका अध्यक्ष गोविन्द बहादुर मल्लले भने, ‘तर सो योजना कसरी आयो, कहिले नापी भयो हामीलाई कुनै जानकारी छैन।’ सो सडक निर्माणका लागि आर्थिक वर्ष २०७७÷०७८ को बजेटमार्फत १ करोड बजेट विनियोजन भएको थियो। प्रदेश संसद बलदेव रेग्मीको पहलमा स्वीकृत भएको योजना कार्यान्वयनका लागि जगन्नाथ गाउँपालिका बाजुराका अध्यक्ष कालीबहादुर शाहीको कम्पनीले ठेक्का पाएको छ।
वडा नम्बर ४ का ३५ परिवार पनि विस्थापित
लगातारको वर्षापछि बाजुराको हिमाली गाउँपालिका–४ को फैती गाउँस्थित दलित बस्तीमा पहिरो जाँदा करिब ३५ घर परिवार विस्थापित भएका छन्। वर्षापछि गाउँ माथिबाट पहिरो जाँदा ३५ परिवार विस्थापित भएका वडा अध्यक्ष रमेश विकले बताए। तर सो स्थानमा सडकका कारण पहिरो भने नगएको उनले बताए। ‘गाउँ माथिबाट पहिरो जाँदा ३५ परिवार विस्थापित भएका छन्’, उनले भने, ‘उनीहरूका लागि वैकल्पिक व्यवस्था गर्नु आवश्यक देखिएको छ। पहिरो गएको स्थान बस्न योग्य देखिँदैन।’