काठमाडौं- युरो कप २०२० अन्तर्गत डेनमार्क र चेक गणतन्त्रबीचको खेलमा भएको एक घटना आलोचित बनेको छ। एक डेनिस समर्थकले प्रयोग गरेको एलजीबीटी समूदायको प्रतिकका रुपमा रहको इन्द्रेणी रंगको झण्डा सुरक्षा गार्डले हटाएको विषयलाई लिएर आलोचना भएको हो।
यसअघि पनि युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले म्युनिखमा इन्द्रेणी रंगको बत्ति बाल्ने अनुमति अस्विकृत गरेको थियो। म्युनिखको स्थानीय सरकार र जर्मन एफएले गरेको प्रस्ताव अस्विकृत भएपछि म्युनिखका मेयर डायटर रिटरले यूईएफएको आलोचना गरेका थिए।
यता हंगेरीमा यू–१८ को शैक्षिक सामाग्रिमा समलिंगी विषय दर्शाउने पाठ्यक्रम र त्यस्ता खालका विज्ञापन हटाउने सरकारी आदेशपछि त्यसको पनि विश्वव्यापी आलोचना भएको थियो।
पछि हंगेरी र जर्मनीको खेलमा यो मुद्दा फुटबलसँग जोडिन पुगेको थियो। त्यस्तै पछिल्लो समय क्वार्टरफाइनलका खेलमा पनि डेनमार्कका समर्थलेले रंगशालामा एलजीबीटी प्राइड फ्ल्याग प्रयोग गरेपछि उनलाई सुरक्षा गार्डले त्यो झण्डा प्रयोग नगर्न भनेका थिए।
त्यसपछि सो दृष्य सामाजिक सञ्जालमा बाहिरिएपछि मानिसहरूले यूईएफएलाई फेरि आलोचना गरेका छन्। ‘यूईएफएले सूरक्षा गार्डलाई बाकू वा अन्य कुनै पनि रंगशालामा त्यस्तो निर्देशन दिएको छैन,’ यूईएफएले जारी गरेको सूचनामा भनिएको छ।
‘त्यो खेलमा के भएको थियो भन्ने विषयमा हामी अध्ययन गरिरहेका छौं। र, हामी यूईएफएको त्यहाँका प्रतिनिधि, सुरक्षा प्रमुख र स्थानीय आयोजकसँग कुरा गर्नेछौं। झण्डा देखाउने मानिसले मादक पदार्थ पिएको र छेउमा बस्ने मानिस रिसाएको प्रारम्भिक अनुमान छ।’
बाकू र रसियाको मैदानमा प्राइड रंग जानउने विज्ञापन प्रयोग नगर्ने यूईएफएले खेलअघि नै स्पोन्सरलाई आग्रह गरेको थियो। किनभने त्यहाँको सरकारले यी कुराहरूको प्रदर्शनलाई रोक लगाएको छ।