काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको मुद्दाको बहस अन्तिम चरणमा छ।
आज मुद्दाको बहसमा रिट निवेदकको जवाफी बहस र एमीकस क्यूरीको राय सहितको बहस हुने छ।
आइतबार सभामुखको तर्फबाट कानुन व्यवसायीहरूले बहस सकेपछि रिट निवेदक पक्षले जवाफी बहस सुरु गरेको थियो। आज इजलास सुरु भए लगत्तै रिट निवेदककै जवाफी बहस प्रारम्भ हुनेछ। यसअघि हिजो करिब १ घन्टा वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले जवाफी बहस गरिसकेका छन्। तीन घन्टा छुट्टाइएको जवाफी बहसको बाँकी रहेको २ घन्टाको समयमा आज तीनजना वरिष्ठ अधिवक्ताले बहस गर्ने छन्। वरिष्ठ अधिवक्ता बर्दीबहादुर कार्की, हरिहर दाहाल र शम्भु थापाले आज जवाफी बहस गर्ने छन्।
दिउँसो खाजा ब्रेक अघि उनीहरूको बहस सकिएमा त्यसपछिको एमीकस क्यूरीको तर्फबाट राय पेश हुनेछ। एमीकस क्यूरीलाई २ घन्टाको समय तोकिएको छ। यसमा वरिष्ठ अधिवक्ताहरूले आधा आधा घन्टा बहस गर्ने गरी समय तोकिएको छ। सर्वोच्च अदालत बार एसोसिएसनको तर्फबाट वरिष्ठ अधिवक्ता कोमल प्रकाश घिमिरे र प्रकाश बहादुर केसी तथा नेपाल बार एसोसिएसनको तर्फबाट वरिष्ठ अधिवक्ता राघवलाल वैद्य र उषा मल्ल पाठकले बहस गर्ने छन्।
आज नै बहस सक्ने तयारी इजलासले गरेको छ। त्यसपछि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन सदर वा बदर भन्नेबारे आफ्नो फैसला दिनेछ।
इजलासमा बहस अन्तिम चरणमा पुगेपछि मुद्दाको फैसला के हुन्छ भन्ने निकै चासो बढेको छ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ मा प्रतिनिधि सभा विघटन गरी कात्तिक र मंसिरमा मध्यावधि चुनाव घोषणा गरेकी थिइन्। त्यसविरुद्ध नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ जना सांसदले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।