चितवन- चितवनमा नौ दिनदेखि बेपत्ता युवतीको शव भेटिएको छ। नौ दिनदेखि हराइरहेकी चितवनकी सुजाता भण्डारीको शव राप्ती नगरपालिकाको ब्रह्मस्थानी सामुदायिक वनमा भेटिएको चितवन प्रहरीले जनाएको छ।
चितवन प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीका अनुसार आइतबार अपराह्न शव भेटिए पनि साँझ मात्रै परिवारले पहिचान गरेका थिए।
भण्डारीले हराएकै दिन दिदीलाई फोन गरेर आफूलाई तीन जनाको समूहले अपहरण गरेको बताएकी थिइन्। लगत्तै परिवारले भण्डारीको अपहरण भएको भन्दै प्रहरीमा उजुरी दिएको थियो।
भण्डारी असार ११ गते विहान ६ बजे साथीको घर जाने भनेर हिँडेकी थिइन्। सोही दिन उनले १२ बजे दिदीलाई फोन गरेर अपहरणमा पारेको बताएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
घटना लगत्तै घटनाबारे अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीसमेत खटिएको थियो। तर, उसले केही सुराक भेटाउन सकेको थिएन।
आइतबार जंगलमा च्याउ टिप्न गएका स्थानीयहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले घटनाबारे अनुसन्धान जारी रहेको बताएको छ।