काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका माधवकुमार पक्षीय नेता भीम रावल पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटका लागि बालुवाटार पुगेका छन्। शर्मा ओलीसँग भेट गर्न पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले अस्वीकार गरेपछि रावल बालुवाटार पुगेका हुन्।
रावल आइतबार साँझ रावल बालुवाटार प्रवेश गरेका थिए। ओलीले भेटका लागि बोलाएपछि रावल बालुवाटार पुगेको स्रोतले जानकारी दिएको छ। ओलीले रावललाई पार्टी एकताका लागि थप प्रभावकारी भूमिका निर्वाह गर्न रावलसँग आग्रह गरेका थिए। स्रोतका अनुसार ओलीले रावललाई असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका वरिष्ठ नेता माधवकुमार नेपाललाई सहमतिमा ल्याउन आग्रह गरेका थिए। जबाफमा रावलले आफूहरु पनि एकताकै पक्षमा रहेको तर पूर्ववत् अडान कायमै रहेको बताएका थिए। रावल नेपाललाई सबैभन्दा बढी प्रभाव पार्न सक्ने नेताका रुपमा चिनिन्छन्।
ओलीसँग भेट गर्नका लागि माधव नेपालले भने अस्वीकार गर्दै आएका छन्। एमाले एकता कायम गर्न भन्दै ओली र नेपाल पक्षका दोस्रो तहका नेताहरूले दुवै जना शीर्ष नेतालाई भेट गराउने प्रयास गरे पनि असफल भएपछि रावलसँग ओलीले भेटेका हुन्। नेता नेपालले ओलीसँग फोनमा पनि कुरा गर्न अस्वीकार गर्दै आएका छन्। यद्यपि, दुवै नेताबीच दोस्रो तहका नेताहरूको प्रयासमा बेलाबेला कुराकानी हुँदै आएको छ।
शनिबार सम्पन्न ओली पक्षीय एमालेको केन्द्रीय कमिटी बैठकले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका २३ सांसदलाई सोमबार साँझसम्मको अल्टिमेटम दिएको छ। त्यसअघि नै सहमति जुटाउन एमालेका दुवै पक्षका दोस्रो तहका नेताहरू सक्रिय छन्।