काठमाडौं- मनसुनजन्य विपद्का कारण पूर्वाधारमा व्यापक क्षति भएको गृह मन्त्रालयले जानकारी दिएको छ। आइतबार राष्ट्रियसभाको बैठकमा गृहमन्त्री विष्णु पौडेलले विद्युतीय आयोजना, मोटरेबल पूलसहितका पूर्वाधारमा क्षति भएको जानकारी गराएका हुन्।
उनका अनुसार सिन्धुपाल्चोक जिल्लामा ७ वटा पक्की मोटरेबल पूलमा क्षति पुगेको छ। त्यस्तै मनाङमा २ वटा मोटरेबल पक्की पुलमा, चितवनमा २ वटा, तनहुँमा एउटा, मोरङमा एउटा, उदयपुर र सिरहामा एकएक गरी जम्मा १५ वटा मोटरेबल पक्की पुलमा क्षति भएको गृह मन्त्रालयको विवरण रहेको छ।
त्यस्तै मनाङमा ५ वटा मोटरेबल काठेपुलमा क्षति भएको गृह मन्त्रालयको तथ्यांक छ।
गृहको तथ्यांकअनुसार बाढीका कारण झोलुङ्गे पूलहरुमा पनि क्षति भएको छ। जसअनुसार सिन्धुपाल्चोकमा १४, मनाङमा ७ वटा र मस्र्याङ्दी नदीको एक्लेफाँटमा (तनहुँ र गोरखा जोड्ने) १ गरी २२ वटा झोलुङ्गे पुल क्षतिग्रस्त भएका छन्।
विषयगत निकायहरुबाट तत्काल कार्ययोजना बनाई क्षति भएका सार्वजनिक सम्पत्ति र पूर्वाधारहरुको पुनर्निर्माण गरिने दाबी मन्त्री पौडेलले गरे।
त्यस्तै सिन्धुपाल्चोकको मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्ससम्म जाने पहुँच मार्ग र पुलहरूमा क्षति भएको उनले जानकारी दिए। उनका अनुसार मेलम्चीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट तत्काल २ वटा बेलीब्रिज निर्माणको तयारी गरिएको छ।
मेलम्ची आयोजनाको खानेपानी, सडकलगायतका पूर्वाधार सम्बद्ध विशेषज्ञको टोलीबाट स्थलगत अनुगमन गरी तत्काल पहुँच मार्ग पुननिर्माण गर्नुका साथै आयोजनाको हेडवर्क्समा भएको क्षतिको यकिन गरी मर्मतसम्भारको काम अगाडि बढाइने मन्त्री पौडेलले बताए।
देशभरका साना ठूला गरी विभिन्न ४३ वटा खानेपानी आयोजनामा क्षति पुगेको र सम्बन्धित निकायहरूबाट पुनर्निर्माणको प्रयास भइरहेको पौडेलको भनाइ छ। उनका अनुसार कास्की, लमजुङ, मनाङ, सिन्धुपाल्चोकलगायत विभिन्न जिल्लाका साना ठूला गरी २५ वटा जलविद्युत आयोजनाहरूमा आंशिक क्षति पुगेको छ।